विराटनगर । मोरङ कारागारका कैदीबन्दीहरूको रासन भत्ता र श्रमको पारिश्रमिक असुली (शोषण) गरेको आरोपमा पक्राउ परेका अभिषेक गिरीविरुद्ध प्रहरीले थप दुईवटा गम्भीर मुद्दामा अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले गिरीविरुद्ध ‘सङ्गठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ मुद्दामा अनुसन्धानका लागि म्याद थप गर्न सोमबार जिल्ला अदालत मोरङमा उपस्थित गराएको हो। अदालतले हिरासत बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
यसअघि ‘अपराधिक लाभ’ (जबरजस्ती असुली) मुद्दामा पक्राउ परेका गिरीको हिरासत अवधि सोमबार नै सकिँदै थियो। गिरीको आपराधिक सञ्जाल ठुलो रहेको र उनले अवैध माध्यमबाट अस्वाभाविक सम्पत्ति आर्जन गरेको देखिएकाले थप दुई मुद्दामा अनुसन्धान गर्नुपरेको प्रहरीको भनाई छ।
मोरङका प्रहरीका अनुसार गिरीको गतिविधि सङ्गठित स्वरूपको पाइएकाले अदालतसँग म्याद थपको अनुमति माग गरिएको थियो। मोरङ अदालतका स्रेस्तेदार मणी पोखरेलले प्रहरीले दुईवटा मुद्दामा म्याद थपका लागि गिरीलाई इजलासमा पेस गरेको र बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको बताए ।
यसअघि असार १७ गते उच्च अदालत विराटनगरले गिरीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गर्दै प्रहरीलाई पाँच दिनभित्र अनुसन्धान सकेर अभियोग पत्र दर्ता गर्न वा अनुसन्धान नसकिए थुनामुक्त गरेर बाहिरै राखी प्रक्रिया अघि बढाउन आदेश दिएको थियो। अदालतले तोकेको उक्त समयसीमाभित्रै प्रहरीले नयाँ मुद्दाको प्रक्रिया अगाडि बढाएको हो।
गिरीलाई गत असार १३ गते विराटनगर–८ स्थित उनकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीसँगै उनका सहयोगीहरू सञ्जय मण्डल र विजय कामतसहित चार जना यसअघि नै पक्राउ परिसकेका छन्।
गुण्डागर्दी र अवैध असुलीमा नाम जोडिएका गिरी कारागार बाहिर रहँदा पनि कारागारको आन्तरिक व्यवस्थापनमा हस्तक्षेप गर्दै असुलीमा सक्रिय रहेको प्रहरी दाबी छ। अन्यको हकमा भने सात दिन म्याद थप भएको छ ।


