Premier Cables
Premier Steel

अपराध विराटनगर

रुटिन बन्द मोरङ पेज खोलेर कारवाही मागिएको दुई दिनमै अभिषेक गिरी पक्राउ, के छ पछिल्लो आरोप?

Hamro Biratnagar News Channel Calendar शनिबार, असार १३, २०८३  | राती १०:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ प्रहरीले शनिबार बिहानै नेपाली कांग्रेसका स्थानीय नेता अभिषेक गिरीको घरमा खानतलासी गर्यो । उनी चढ्ने सवारी साधन पनि खानतलासी गरियो । तर, हतियार फेला परेन ।

उनको घरमा अवैध हतियार खोजी गर्दै पुगेको प्रहरीले अन्ततः गिरीलाई नै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ल्यायो ।
यता अभिषेक गिरीले भने पक्राउ पर्दै गर्दा ‘आफूलाई सरकार परिवर्तनपछि राजनीतिक प्रतिशोधका आधारमा नियन्त्रणमा लिइएको’ पत्रकारहरु सँग बताए ।

बिज्ञापन

केही समय प्रहरी कार्यालयमा राखिएका गिरीले छाती दुखेको भनेपछि प्रहरीले आवश्यक परीक्षणका निम्ति कोसी अस्पताल विराटनगरमा भर्ना गर्यो । उनको प्रारम्भिक स्वास्थ्य जाँच गरिएको छ । प्रहरी कार्यालय पुगेपछि उनले केही पनि नखाई न्यायको लागि ‘हिरासतमै आमरण अनसन बस्ने’ चेतावनी दिएका थिए ।

अपहरण तथा शरीर बन्धक मुद्दामा नौ वर्ष जेल सजाय भोगेर दुई वर्षअघि रिहा भएका गिरी पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए। उनी हालै सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेको निर्वाचन परिचालन समितिका संयोजक थिए । घिमिरे मोरङ निर्वाचन क्षेत्र न ४ बाट उमेद्वार थिए ।

के छ पछिल्लो आरोप ?
अभिषेक गिरी पक्राउ पर्नुअघि नै फेसबुकमा आरओएनबी मोरङ न्युज नामक पेजमा अभिषेक गिरीलाई कारवाही हुनुपर्ने लगायतका ‘कन्टेन’ नियमित आउन थालेका थिए ।

दुई दिनअघि खोलिएको पेजमा ‘मोरङ कारागार सम्बन्धी आर्थिक अनियमितताबारे निष्पक्ष र पारदर्शी छानबिनको माग’ भन्दै ‘कन्टेन्ट’ राखिएको थियो ।

‘यदि कुनै पनि आर्थिक अनियमितता, भ्रष्टाचार वा सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको छ भने, सम्बन्धित निकायले निष्पक्ष, स्वतन्त्र र कानुनी प्रक्रियाअनुसार छानबिन गरी सत्य तथ्य सार्वजनिक गरोस्। भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेही प्रशासन निर्माण गर्नु सबैको साझा जिम्मेवारी हो’ भन्दै एआई सिर्जित ‘कन्टेन्ट’ हरु हालिएको थियो ।

दुई दिनमा ९ वटा कन्टेन पोस्ट भएको पेजमा गिरीले कैदीबन्दीलाई ज्यादती गरेको, अवैध रुपमा रकम अशुल्ने गरेको लगायतका विभिन्न आरोप छन् । उनी पक्राउ परेपछि भने त्यो पेज निस्कृय जस्तै छ ।

पक्राउबारे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मकेन्द्र कुमार मिश्रले कैदीबन्दीलाई प्रभावमा पारी अवैध असुली गर्ने गरेको सूचनाका आधारमा गिरीलाई पक्राउ गरेको बताएका छन् । यसबारे थप अनुसन्धानबाट खुल्ने उनले बताए ।

कारागारभित्र सजाय भुक्तान गरिरहँदा चौकीदारका रूपमा कैदीबन्दीमाथि आर्थिक शोषण गर्ने गरेको आरोप  गिरी माथि लाग्ने गरेको थियो । गिरीले हाल गर्मी भत्तासँगै कैदीबन्दीले बनाएका मुढा बिक्रीबाट प्राप्त रकमसमेत गायब भएको विषयमा समेत प्रहरीले अनुसन्धान केन्द्रीत गरेको जनाएको छ ।

जिल्ला कारागार मोरङका कैदीबन्दीलाई वितरण गरिएको १३ लाख ४० हजार रुपैयाँ बराबरको गर्मी भत्ता गायब भएको र त्यसमा गिरीको संलग्नता रहेको दाबी गरिएको छ ‌।

कारागार प्रशासनले गत बुधबारदेखि शुक्रबारसम्म १ हजार १८५ जना कैदीबन्दीलाई प्रतिव्यक्ति २ हजार ५०० रुपैयाँका दरले गर्मी भत्ता वितरण गरेको थियो। तर, बी ब्लकका ५३६ जना कैदीबन्दीलाई वितरण गरिएको कुल १३ लाख ४० हजार रुपैयाँ केही घण्टामै गायब भएको सूचना प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारी युवराज कटेलले घटनाको अनुगमन गर्न निर्देशन दिएका थिए।

अनुगमनका क्रममा अधिकांश कैदीबन्दीको साथमा वितरण गरिएको रकम फेला नपरेपछि सोधपुछ गरिएको थियो। सो क्रममा गिरीको शंकास्पद संलग्नता देखिएको आशंका गरिएको छ ।

जिल्ला कारागार मोरङका अनुसार कारागारमा रहेका ‘ए’ब्लकका ५३९, बी ब्लकका ५३६ तथा महिला ब्लकका ११० गरी कुल १ हजार १८५ जना कैदीबन्दीलाई भत्ता वितरण गरिएको थियो। सुरक्षा निकायको उपस्थितिमा कर्मचारीहरूले कोठा-कोठामै पुगेर रकम हस्तान्तरण गरेका थिए।

तर, अनुगमनका बेला केही कैदीबन्दीसँग ५०० देखि १ हजार रुपैयाँ मात्र फेला परेको थियो। बाँकी रकमबारे सोध्दा उनीहरूले लुगा किन्नका लागि परिवार वा आफन्तलाई पठाइसकेको जिकिर गरेका थिए।

कारागार स्रोतका अनुसार ‘बी’ ब्लकका निमित्त चौकीदार चन्चल बर्मनसँग सोधपुछ गर्दा अभिषेक गिरीको नाम आएको र यस घटनासँगै अन्य विषयमा पनि गिरीको संलग्नता रहेको आशंकामा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यसै घटनामा सोधपुछका लागि प्रहरीले चौकीदार चन्चल बर्मनलाई पनि नियन्त्रणमा लिएको थियो। तर, कैदीबन्दीहरूले विरोध प्रदर्शन गरेपछि उनलाई पुनः कारागारमै फिर्ता पठाइएको थियो ।

गिरी पक्राउ परेको केही समयपछि कैदीबन्दीले कारागारमा नाराबाजी गरेका थिए । ‘बी’ ब्लाकका कैदीबन्दीले भने गिरीको पक्षमा नाराबाजी गरेका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa