काठमाडौं प्रतिनिधिसभाबाट बहुमतका आधारमा पारित भएको प्रतिनिधिसभा नियमावलीका केही प्रावधानविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सर्वोच्च अदालत जाने तयारीमा जुटेको छ।
कांग्रेसले नियमावलीमा समावेश गरिएका केही व्यवस्था संविधानको मर्म र प्रचलित कानुनी व्यवस्थासँग बाझिएको भन्दै न्यायिक परीक्षणको तयारी थालेको हो। विशेषगरी संविधान संशोधनसम्बन्धी प्रावधान तथा सांसदहरूलाई फौजदारी मुद्दाबाहेक अन्य कानुनको दायराबाट बाहिर राख्ने व्यवस्थाप्रति कांग्रेसले असहमति जनाएको छ।
यसअघि प्रतिपक्षी दलहरूको विरोधका बीच सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमतका आधारमा उक्त नियमावली पारित गरेको थियो। त्यसयता केही समय शान्त रहेको विवादलाई कांग्रेसले अब अदालतमार्फत टुंग्याउने तयारी गरेको हो।
यसैक्रममा कांग्रेस सभापति गगन थापाले शुक्रबार नियमावलीविरुद्ध सर्वोच्च अदालत जाने विषयमा कानुनविद् तथा कानुन व्यवसायीसँग परामर्श गरेका छन्। छलफलमा उपसभापति पुष्पा भुसाल, महामन्त्री गुरुराज घिमिरे, प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बे तथा प्रमुख सचेतक बासना थापा सहभागी थिए।
त्यस्तै, वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, गोपालकृष्ण घिमिरे, शेरबहादुर केसी तथा अधिवक्ता राजु कटुवाललगायत कानुनविद्सँग पनि नियमावलीका कानुनी पक्षबारे विस्तृत छलफल भएको कांग्रेसले जनाएको छ।


