विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि प्रस्तुत गरेको बजेटलाई लिएर सत्तारुढ दलभित्रै देखिएको असन्तुष्टि समाधान हुन नसक्दा प्रदेशसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ।
बजेट संशोधनको मोडालिटीमा सत्ता साझेदार दलहरूबीच सहमति जुट्न नसकेपछि बिहीबारका लागि तय गरिएको बैठक अन्तिम समयमा स्थगित गर्दै शुक्रबारका लागि सारिएको हो।
विनियोजन विधेयकमाथिको छलफलका लागि सुरुमा असार ११ गते बोलाइएको बैठक क्रमशः १६ र १८ गतेका लागि सारिएको थियो। तर सहमति नजुटेपछि बिहीबारको बैठक पनि स्थगित गरिएको हो। बैठक पटकपटक स्थगित हुँदा बजेटमाथिको संसदीय छलफल अन्योलमा परेको छ।
सरकारले ल्याएको बजेट असन्तुलित, मन्त्री–केन्द्रित र वितरणमुखी रहेको आरोप लगाउँदै सत्तारुढ नेकपा (एमाले) र नेपाली कांग्रेसकै असन्तुष्ट सांसदहरूले संशोधनको माग गर्दै प्रदेशसभा सञ्चालन अवरुद्ध पार्दै आएका छन्। विवाद समाधानका लागि दुवै दलका प्रतिनिधि सहभागी रहेको ६ सदस्यीय संयुक्त कार्यदल गठन गरिए पनि हालसम्म सहमति जुट्न सकेको छैन।
यसबीच प्रमुख प्रतिपक्षी दल नेकपाले बजेट विवादका कारण संसद सञ्चालन प्रभावित भएको भन्दै सरकारको आलोचना गरेको छ। नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बिहीबार जारी विज्ञप्तिमार्फत बजेट निर्माणदेखि संसद सञ्चालनसम्म सरकारले गैरजिम्मेवार भूमिका निर्वाह गरेको आरोप लगाए।
उनले कांग्रेस–एमाले गठबन्धन सरकारले ल्याएको बजेट नैतिक, वैधानिक र व्यावहारिक रूपमा असफल भएको दाबी गर्दै आफ्नै सांसदको विरोध, प्रदेशसभा बैठकको पटक–पटक स्थगन तथा मुख्यमन्त्रीले सार्वजनिक रूपमा बजेटमा समस्या रहेको स्वीकार गर्नुले त्यसको पुष्टि गरेको उल्लेख गरेका छन्।


