विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नगर सुरक्षा, ट्राफिक व्यवस्थापन तथा शहरी अनुशासनलाई प्राथमिकतामा राखेको छ। उपप्रमुख शिल्पा निराला कार्कीले नगरसभामा बजेट प्रस्तुत गर्दै सुरक्षित, व्यवस्थित र सुन्दर शहर निर्माणका लागि विभिन्न कार्यक्रम घोषणा गरेकी छन्।
महानगरले शहरको सौन्दर्यकरणका लागि अव्यवस्थित विज्ञापन, होर्डिङ बोर्ड तथा भित्तेलेखनलाई व्यवस्थित गर्ने नीति लिएको छ। यस्तै स्पा, मसाज सेन्टर, रात्रिकालीन गीत-गजल, डान्स बार, दोहोरी साँझ तथा होस्टेलहरूलाई थप व्यवस्थित गर्दै नियमन गरिने भएको छ।
स्पा, मसाज सेन्टर, रात्रिकालीन गीत-गजल, डान्स बार, दोहोरी साँझ तथा होस्टेलहरूलाई थप व्यवस्थित गर्दै नियमन गरिने भएको छ।
नगर सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउन सिसिटिभी क्यामेरा र ट्राफिक लाइटजस्ता आधुनिक उपकरणको विस्तार गरिनेछ। ती उपकरणहरूको निगरानी नगर प्रहरीको कन्ट्रोल रुमबाट गर्ने व्यवस्था मिलाइने महानगरले जनाएको छ।
छाडा पशुचौपायाको व्यवस्थापनलाई समेत बजेटले प्राथमिकता दिएको छ। छाडा गाई, भैँसी, खसी, बाख्रा तथा साढे-गोरुलाई नियन्त्रण गरी विभिन्न गौशालासँगको समन्वयमा व्यवस्थापन गरिनेछ। यस्तै छाडा बंगुर तथा सुगुरलाई नियन्त्रण गरी जफत गर्ने नीति लिइएको छ।
पैदल यात्रुको आवागमन सहज बनाउन सडक पेटी अतिक्रमण गरी राखिएका निर्माण सामग्री हटाउने अभियानलाई कडाइका साथ लागू गरिनेछ। सार्वजनिक स्थानमा अवरोध सिर्जना गर्ने निर्माण सामग्री जफत गरी जरिवाना गर्ने व्यवस्था समेत बजेटमा समावेश गरिएको छ।
चाडपर्व, हाटबजार तथा मठमन्दिरमा लाग्ने मेला-महोत्सवका समयमा हुने भीडभाड व्यवस्थापन र ट्राफिक नियन्त्रणलाई प्रभावकारी बनाइने महानगरले जनाएको छ।
नगर प्रहरीलाई थप साधन-स्रोत सम्पन्न बनाउँदै प्राकृतिक विपद्, उद्धार, राहत तथा व्यवस्थापन कार्यमा तत्काल परिचालन गर्न सक्ने क्षमता विकास गरिनेछ। त्यसका लागि आवश्यक तालिमको व्यवस्था पनि गरिनेछ। वारुणयन्त्र (दमकल) मा कार्यरत जनशक्तिलाई प्रविधिमैत्री बनाउँदै आगलागीका घटनामा छिटो प्रतिक्रिया दिन सक्ने गरी तयारी अवस्थामा राखिने र नियमित तालिम प्रदान गरिने योजना छ।
महानगरले घरभित्र प्रवेश गरेका विषालु सर्पको उद्धार कार्यलाई थप प्रभावकारी बनाउने जनाएको छ। साथै नदी तथा खोलाबाट प्राकृतिक स्रोत-साधनको अवैध उत्खनन गरी बिक्री वितरणका लागि ओसारपसार गर्ने सवारी साधनमाथि निगरानी बढाउँदै कानुनअनुसार कारबाहीलाई थप कडा बनाइने बजेटमा उल्लेख गरिएको छ।
महानगरले यी कार्यक्रममार्फत नागरिकको सुरक्षा, शहरी व्यवस्थापन र सार्वजनिक अनुशासनलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।


