काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध थप सैन्य कारबाही अघि बढाउनबाट रोक्ने उद्देश्यले अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले एक प्रस्ताव पारित गरेको छ।
इरानसँग जारी सैन्य तनावप्रति असन्तुष्टि जनाउँदै चार जना रिपब्लिकन सांसदले डेमोक्र्याट सांसदहरूको पक्षमा मतदान गरेपछि प्रस्ताव २१५–२०८ मतले अनुमोदन भएको हो।
यो प्रस्ताव ट्रम्पको युद्धसम्बन्धी अधिकार सीमित गर्न तल्लो सदनले गरेको चौथो प्रयास हो। प्रस्तावका समर्थकहरूले इरानविरुद्धको सैन्य अभियानका लागि अमेरिकी संविधानअनुसार कंग्रेसको स्पष्ट स्वीकृति नलिइएको भन्दै आपत्ति जनाएका छन्।
यद्यपि, तल्लो सदनबाट पारित भएको प्रस्तावले कानुनी मान्यता पाउन अझै रिपब्लिकनहरूको बहुमत रहेको अमेरिकी सिनेटबाट अनुमोदन हुनुपर्नेछ। सिनेटबाट पारित भए पनि यसले इरानविरुद्धको सैन्य कारबाही पूर्ण रूपमा रोक्ने सम्भावना भने कम रहेको विश्लेषकहरूको भनाइ छ।
प्रस्ताव पारित भए पनि राष्ट्रपति ट्रम्पले त्यसमा भिटो प्रयोग गर्न सक्नेछन्। भिटोलाई निष्प्रभावी बनाउन कंग्रेसका दुवै सदनमा दुई–तिहाइ बहुमत आवश्यक पर्ने व्यवस्था छ।
यसअघि सिनेटले पनि सातवटा असफल प्रयासपछि गत मे महिनामा यस्तै प्रकृतिको प्रस्ताव अघि सारेको थियो। तर, त्यसमाथि पूर्ण मतदान भने अझै हुन सकेको छैन।
बुधबार भएको मतदानमा रिपब्लिकन सांसद थोमस मासी, ब्रायन फिट्जप्याट्रिक, टम ब्यारेट र वारेन डेभिडसनले डेमोक्र्याटहरूको पक्षमा मतदान गरेका थिए। यसअघि यस्ता प्रस्तावको विपक्षमा उभिँदै आएका मेन राज्यका डेमोक्र्याट सांसद जेरेड गोल्डेनले पनि यसपटक प्रस्तावको समर्थन गरे।
“युद्ध घोषणा गर्ने अधिकार कंग्रेससँग मात्र हुन्छ। यो हामीले जोगाउनुपर्ने संवैधानिक अधिकार हो,” मिशिगनका रिपब्लिकन सांसद टम ब्यारेटले बताए।
मतदानका कारण राष्ट्रपति ट्रम्पबाट सम्भावित राजनीतिक दबाब आउन सक्ने विषयमा प्रतिक्रिया दिँदै ब्यारेटले आफूले सही ठानेको निर्णयअनुसार मतदान गरेको र त्यसको परिणाम स्वीकार गर्न तयार रहेको बताएका छन्।
