बिर्तामोड । दोस्रो संस्करणको झापा महिला गोल्डकपको विजेताले नगद ११ लाखसहित आकर्षक ट्रफी पाउने भएको छ । पहिलो संस्करणको विजेताले नगद १० लाख १० हजार पाएको थियो ।
झापा महिला गोल्डकपको आयोजनामा प्रतियोगिता यही मंसिर ५ गतेदेखि १२ गतेसम्म शिवसताक्षीस्थित दुधे रंगशालामा हुँदैछ । गोल्डकप आयोजक समितिले दुधे रंगशालामा पत्रकार सम्मेलन गरी गोल्डकपबारे जानकारी दिएको हो ।
आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार उपविजेता टिमले नगद ५ लाख ५० हजार पाउनेछ । गत संस्करणमा उपविजेताले नगद ५ लाख रुपैयाँ पाएको थियो । प्रतियोगिताको मुख्य प्रयोजक एग्रो थाई फुड्स प्रालिको उत्पादन एक्स्ट्रिम इनर्जी ड्रिंग्स रहेको छ ।
गोल्डकपमा तीन विभागीय एपिएफ एफसी, नेपाल पुलिस एफसी र त्रिभुवन आर्मी एफसीसहित नेपालका ए डिभिजन क्लब, भारत, भूटान र आयोजकसहित आठ टोलीको सहभागिता रहनेछ ।
एक करोड २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको गोल्डकपको सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख ५० हजारसहित ट्रफी प्राप्त गर्नेछ । यसैगरी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र सर्वाधिक गोलकर्ताले जनही २५ हजार पाउँदा प्रत्येक खेलको प्लेयर अफ द म्याच बन्ने खेलाडीले नगद १५ हजार र ट्रफी पाउनेछ ।
करिब १२ हजार दर्शक क्षमताको दुधे रंंगशालाको स्तरोन्नति गर्ने काम धमाधम भइरहेको छ । मैदानको पूर्वी भागमा मेटलको प्यारापिट निर्माण गरिनेछ । अध्यक्ष थोप्राले बाँसको अस्थायी प्यारापिट र खेलमैदानको स्तरोन्नति कात्तिक तेस्रो सातासम्म सम्पन्न गरिसक्ने बताए ।
यसैबीच, गोल्डकपमा बिक्री भएको प्रत्येक टिकटबाट दस रुपैयाँ आदिवासी नेत्रहीन संघ र अटिजम भएका बालबालिका अध्यनरत एक विद्यालयलाई प्रदान गरिने पनि अध्यक्ष थोप्राले बताए ।
पहिलो संस्करणको उपाधि नेपाल पुलिस फुटबल क्लबले जितेको थियो । एपिएफ एफसीविरुद्ध मिना देउवाको एक गोल मद्दतमा पुलिस च्याम्पियन बनेको थियो ।
