फायल फोटो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ। त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स सहभागी छन्।
तेस्रो संस्करणको उद्घाटन खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। यी दुई टोलीबीचको खेल आज अपराह्न साढे ४ बजे सुरु हुनेछ। प्रतियोगिताका सबै खेल हिमालय स्पोर्ट्स (हिमालय टिभी) बाट प्रत्यक्ष प्रसारण हुनेछन्।
एनपीएलको यस संस्करणमा सिंगल राउन्ड रोबिन प्रणालीमा लिग चरणका खेल हुनेछन्। त्यसपछि इलिमिनेटर र क्वालिफायर हुँदै मंसिर ५ गते फाइनल खेल हुनेछ।
विजेताले डेढ करोड रुपैयाँ पाउने
तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पाउनेछन्।
अघिल्लो संस्करणको तुलनामा यसपटक पुरस्कार राशि बढाइएको हो। गत संस्करणमा लुम्बिनी लायन्सले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। त्यतिबेला विजेता लुम्बिनीले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाएको थियो।
विदेशी स्टार खेलाडीको आकर्षण
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त यस संस्करणमा विभिन्न देशका चर्चित खेलाडीको सहभागिता रहनेछ।
अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नर काठमाडौं गोर्खाजबाट खेल्दैछन्। वेस्ट इन्डिजका आन्द्रे रसेल तथा श्रीलंकाका एन्जेलो म्याथ्युज र चरिथ असलंकाले विराटनगर किङ्सबाट खेल्नेछन्।
सुदूरपश्चिम रोयल्समा सेरफान रदरफोर्ड र फेबियन एलेन अनुबन्ध भएका छन्। पोखरा एभेन्जर्समा बंगलादेशका शाकिब अल हसन, मोहम्मद सैफुद्दिन र महेदी हसनजस्ता खेलाडी छन्।
त्यस्तै, कर्णाली याक्समा दक्षिण अफ्रिकाका डेभिड मिलर, पाकिस्तानका हुसेन तलात र साहिबजादा फरहान तथा बंगलादेशका अरिफुल इस्लाम र अकबर अली अनुबन्ध भएका छन्। लुम्बिनी लायन्समा बंगलादेशका अलराउन्डर सामी हुसेन रहेका छन्।
यसैगरी, पाकिस्तानका मोहम्मद नवाज, हैदर अली, हसन अली र इफ्तिखार अहमद, इंग्ल्यान्डका मोइन अली, न्युजिल्यान्डका जिम्मी नीशम तथा जिम्बाब्वेका कप्तान सिकन्दर राजालगायत खेलाडीको सहभागिताले प्रतियोगितालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।
पहिलोपटक डीआरएस प्रविधि प्रयोग हुँदै
तेस्रो संस्करणको अर्को विशेषता निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) को प्रयोग हो। नेपालमा पहिलोपटक एनपीएलमार्फत यो प्रविधि प्रयोग गर्न लागिएको हो।
मैदानमा रहेका अम्पायरको निर्णयमा शंका लागेमा टोलीले डीआरएसमार्फत पुनरावलोकन माग गर्न सक्नेछन्। एलबीडब्लू, रनआउट, स्टम्पिङ, फ्रन्टफुट नोबल र वाइडसम्बन्धी निर्णयमा प्रविधिको सहायता लिइनेछ। साथै, छक्काको दूरी र उचाइ मापन गर्न पनि प्रविधि प्रयोग हुनेछ।
नियमअनुसार प्रत्येक टोलीले एक इनिङ्समा दुईवटा रिभ्यू लिन पाउने व्यवस्था गरिएको छ। डीआरएसको प्रयोगले अम्पायरका निर्णयलाई थप विश्वसनीय बनाउनुका साथै प्रतियोगिताको प्रतिस्पर्धात्मक स्तर बढाउने अपेक्षा गरिएको छ।
आकर्षक पुरस्कार राशि, विदेशी स्टार खेलाडीको सहभागिता र नयाँ प्रविधिको प्रयोगका कारण यसपटकको एनपीएललाई नेपाली क्रिकेटको महत्वपूर्ण प्रतियोगिताका रूपमा हेरिएको छ।
