काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका कर्णाली याक्सका पाकिस्तानी खेलाडी साहिबजादा फरहान राष्ट्रिय टोलीमा छनोट भएपछि स्वदेश फर्किने भएका छन् ।
पाकिस्तानले श्रीलंकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाका लागि बोलाएपछि फरहान पाकिस्तान फर्किन लागेका हुन् । कर्णाली याक्सले यसबारे जानकारी दिएको छ ।
कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार फरहान अक्टोबर ३१ मा राष्ट्रिय टोलीको खेल सकेपछि पुनः एनपीएलमा फर्किने सम्भावना छ । उनी फर्किने समयसम्मका लागि उनको स्थानमा अर्को खेलाडी ल्याउने तयारी भइरहेको घिमिरेले बताएका छन् ।
यसैबीच, घिमिरेले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एनपीएल खेल्न नेपाल आएका पाकिस्तानी खेलाडीलाई अनापत्ति प्रमाणपत्र (एनओसी) दिन थप २५ हजार अमेरिकी डलर मागेको बताएका छन् ।
खेलाडीहरूले एनओसी लिएर नेपाल आइसकेपछि थप रकम मागिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् ।
