Premier Cables

राजनीति विराटनगर

लिपुलेक-कालापानीबारे जानकारी नभएको अभिव्यक्तिपछि पुनः विवादमा सांसद आशा झा

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २०, २०८३  | अपराह्न १२:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशा झा पछिल्ला दिनमा लगातार विवादमा तानिएकी छन्।

केही दिनअघि मोरङको रंगेलीस्थित इलाका प्रहरी कार्यालयमा ‘पिर्के सलामी’ लिएको भिडियो सार्वजनिक भएपछि आलोचनाको सामना गरेकी झा अहिले नेपालका विवादित सीमा क्षेत्र लिपुलेक, कालापानी र लिम्पियाधुराबारे जानकारी नभएको प्रतिक्रिया दिएपछि पुनः सामाजिक सञ्जालमा चर्चाको विषय बनेकी छन्।

विज्ञापन

जेठ १७ गते रंगेलीस्थित इलाका प्रहरी कार्यालयमा झाले पिर्के सलामी लिएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। उक्त घटनापछि सञ्चारमाध्यमसँग प्रतिक्रिया दिँदै उनले आफूले मागेर सलामी नलिएको दाबी गरेकी थिइन्। 

यसैबीच, एचएमटी खबर नामक युट्युब च्यानलमा पत्रकार दिवाकर साहले गरेको अन्तर्वार्ताका क्रममा झासँग लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको कुन जिल्लामा पर्छ भन्ने प्रश्न सोधिएको थियो। प्रश्नको जवाफमा उनले आफूलाई त्यसबारे थाहा नभएको बताएकी थिइन्। पत्रकारले पुनः सोही प्रश्न दोहोर्‍याउँदा पनि उनले स्पष्ट जवाफ दिन नसकेपछि उक्त भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले जनताबाट निर्वाचित प्रतिनिधिले नेपालको राष्ट्रिय महत्वको विषय र लामो समयदेखि चर्चामा रहेको सीमा विवादबारे सामान्य जानकारीसमेत नराख्नु दुःखद भएको टिप्पणी गरिरहेका छन्। कतिपयले सांसदको जिम्मेवारी र राष्ट्रिय विषयप्रतिको ज्ञानमाथि प्रश्न उठाएका छन् भने केहीले अन्तर्वार्ताको एउटा अंशका आधारमा मात्रै निष्कर्षमा पुग्न नहुने धारणा पनि व्यक्त गरेका छन्।

लिपुलेक, कालापानी र लिम्पियाधुरा दार्चुला जिल्लाको व्यास गाउँपालिकाअन्तर्गत पर्ने क्षेत्र हुन्। यी भूभाग नेपाल–भारत सीमा विवादका केन्द्रमा रहँदै आएका छन् र नेपाली राजनीतिक वृत्तमा संवेदनशील राष्ट्रिय मुद्दाका रूपमा हेरिन्छन्।

उल्लेखनीय रूपमा, जेठ १७ गते बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह ले समेत कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी विषय उठाएका थिए। उनको अभिव्यक्तिपछि संसद् र सामाजिक सञ्जालमा व्यापक बहस तथा आलोचना भइरहेको छ।

सांसद झाको पछिल्लो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा आलोचना चुलिए पनि उनले यस विषयमा औपचारिक स्पष्टीकरण भने दिएकी छैनन्। यद्यपि, पिर्के सलामी विवाद सेलाउन नपाउँदै अर्को विवादमा तानिएपछि उनको राजनीतिक गतिविधिमाथि जनचासो बढेको देखिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka