काठमाण्डौ । चार दिनको लामो बिदा र बजेटपश्चात खुलेको सेयरबजारमा आज गिरावट आएको छ । गत शुक्रबार नेपाल सरकारले गत आवका लागि बजेट प्रस्तुत गरेको थियो । बजेटमा सरकाररले पूँजीगत लाभाकर वृद्धि गरिने जनाएको थियो । बजेटमार्फत सरकारले अल्पकालिन पूँजीगत लाभकर ७.५ प्रतिशत र दीर्घकालिन १० प्रतिशत पुर्याएको छ ।
अर्थमन्त्रीले उक्त सीमा अन्तिम हुने बताएका छन् । बजेटपश्चात सेयरबजारमा सकारात्मक प्रभाव देखिने विश्वास गरिएतापनि आजको बजारको अवस्थाले त्यस्तो देखिएन । आज आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.९६ प्रतिशत अर्थात २६.७२ अंकले घटेर २ हजार ७५५.३७ विन्दुमा सीमित बन्यो छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि १ प्रतिशतले घटेर ४७०.७२ विन्दुमा झरेको छ।
आज नेप्सेमा सूचीकृत ३४९ वटा स्क्रिप्टका १ करोड ३३ लाख ८३ हजार ८१६ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ६१ करोड ४३ हजार बढीको सेयर कारोबार भएको छ ।
आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्, ‘आजको बजार घट्नुको मुख्य कारण नै बजेटमार्फत उद्घोष भएको पूँजीगत लाभकरको विषय हो । बजेटपछि बजारले लय समाउछ भन्ने आशामा बसेका लगानीकर्ताहरु निरुत्साहित बनेका छन् । क्यापिटल गेन ट्याक्सको विषयमा अर्थमन्त्रीले अन्तिम करको मान्यता दिइएपनि यस विषयमा सञ्चारमाध्यम लगायत केही लगातीकर्ताहरु भ्रम सिर्जना गरे जसकारण अधिकांश लगानीकर्तामा अन्योलता सिर्जना भयो ।’
उनले थपे, ‘साथै सरकारले पनि पूँजीगत लाभकर साढे २ प्रतिशत वृद्धि गरेका कारण नै लगानीकर्ताहरु अत्तालिएका हुन् । अन्य देशहरुमा नेपालको तुलनामा पूँजीगत लाभकर बढी छ, तर हाम्रो देशमा यतिबेला लगानीकर्ताहरुको मनोबल खस्किएकै समयमा कर पनि बढाइनु न्यायोचित छैन । सरकारले अर्को वर्ष वा एकदुई वर्षपछि पनि वृद्धि गर्न सक्थ्यो तर अहिलेको उचित समय नभएकै बेला पूँजीगत लाभकर बढाउँदा बजार झनै तल जाने सम्भावना बढ्ने भयो । अहिलेको सरकार जसरी हुन्छ राजश्व बढाउने तरखरमा छ, यसैले अर्थमन्त्रीले लगानीकर्तालाई पूँजीगत लाभकरलाई अन्तिम करको मान्यता दिएर एउटा हातले दिने र अर्को हातले लिने कार्य गरेको छ ।’
कुन समूहमा भयो कतिको थपघट ?
आज कारोबारमा आएका १३ वटा समूहमध्ये दुईवटा बाहेक अन्य सबैमा रातो पोतियो । आज निर्जीवन बीमा समूह १.३७ र अन्य समूह ३.३६ प्रतिशतले बढे ।
व्यापार समूहमा आज सर्वाधिक गिरावयट देखियो । यो समूह आज ६.१४ प्रतिशतले ओरालो लाग्यो । यस्तै बैंकिङ समूह ०.९९ प्रतिशत, विकास बैंक ०.८१, फाइनान्स ०.५०, होटल १.४०, हाईड्रो १.९७, लगानी १.२२, जीवन बीमा ०.७९, उत्पादन तथा प्रशोधन १.४२, लघुवित्त ०.९० र म्युचुअल फण्ड ०.९१ प्रतिशतले घट्यो ।

