Premier Cables
Premier Steel

कोशी प्रदेश

‘पिर्के सलामी’ विवाद: आशा झा भन्छिन्- मैले मागेर लिएको होइन

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ १८, २०८३  | अपराह्न २:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । प्रतिनिधिसभामा आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गरिरहेका बेला मोरङ–५ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशा झा भने रंगेलीस्थित इलाका प्रहरी कार्यालयमा प्रहरीको सलामी ग्रहण गरिरहेकी थिइन्। प्रहरीबाट सलामी लिएको उनको भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा तीव्र बहस र आलोचना सुरु भएको छ।

सार्वजनिक भिडियोमा सांसद झा रातो कपडा बिछ्याइएको पिर्कामाथि उभिएर प्रहरी टोलीबाट औपचारिक सलामी लिँदै गरेको देखिन्छ। नेपाल प्रहरीमा सामान्यतः मन्त्री वा सोभन्दा माथिल्लो तहका विशिष्ट व्यक्तिलाई सलामी दिने प्रचलन रहेकाले सांसदलाई दिइएको उक्त सम्मानलाई लिएर प्रश्न उठाइएको हो।

बिज्ञापन

यसअघि स्थानीय तहका प्रमुखहरूले सलामी लिएको घटनामा व्यापक आलोचना भएपछि त्यस्तो अभ्यास घटेको थियो। तर सांसद झाको भिडियो सार्वजनिक भएसँगै जनप्रतिनिधिको सादगी, लोकतान्त्रिक संस्कार र शक्ति प्रदर्शनको विषय फेरि चर्चामा आएको छ।

सामाजिक सञ्जालमा धेरैले नयाँ राजनीतिक दलका प्रतिनिधिसमेत पुरानै शैलीमा प्रस्तुत भएको भन्दै टिप्पणी गरेका छन्। ‘जनताको प्रतिनिधि कि शासक?’ भन्ने प्रश्नसमेत उठाइएको छ।

आलोचनाबीच सांसद झाले भने आफूले सलामी माग नगरेको स्पष्ट पारेकी छन्। उनका अनुसार काली मन्दिर दर्शनका क्रममा रंगेली पुगेका बेला प्रहरीको आग्रहमा उनी इलाका प्रहरी कार्यालय पुगेकी थिइन्।

“उहाँहरूले सम्मान व्यक्त गर्दा त्यसलाई अस्वीकार गर्नु उचित ठानिनँ,” सांसद झाले भनिन्, “पाहुनालाई सम्मान गर्ने हाम्रो सामाजिक संस्कार पनि हो।”

भेटका क्रममा इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटीले सांसद झालाई कार्यालयको निरीक्षण गराएका थिए। त्यस अवसरमा प्रहरीले पूर्वाधार अभावका कारण कामकाजमा समस्या भइरहेको जानकारी गराएपछि सांसद झाले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएकी थिइन्।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले घटनालाई सामान्य सम्मानका रूपमा बुझ्नुपर्ने बताएका छन्। उनका अनुसार सामाजिक सञ्जालमा विषय बढी चर्चामा आएकाले विवाद बढेजस्तो देखिएको हो।

यद्यपि जनप्रतिनिधिलाई ‘विशेष व्यक्ति’ का रूपमा प्रस्तुत गर्ने संस्कारले सुरक्षा निकायभित्र अझै सामन्ती सोच बाँकी रहेको टिप्पणीसमेत भइरहेको छ। सुरक्षा मामिलाका जानकारहरू सलामी सम्मानको विषय भए पनि त्यसलाई शक्ति प्रदर्शन वा चाकडीको माध्यम बनाइनु उचित नहुने बताउँछन्।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यविधिमा विशिष्ट व्यक्तिलाई सलामी दिने व्यवस्था रहे पनि अनावश्यक रूपमा सलामी प्रदर्शन गर्ने प्रवृत्तिले सुरक्षा निकायको व्यावसायिकतामाथि प्रश्न उठाउने गरेको आलोचकहरूको भनाइ छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka