Premier Cables
Premier Steel

राष्ट्रिय

“सुन्दर भएकै कारण आलोचना खेप्नुपरेको छ”

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ १०, २०८३  | साँझ ७:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद श्रृष्टि भट्टराईले सामाजिक सञ्जालमा गरेको एक पोस्ट यतिबेला व्यापक चर्चा र विवादको विषय बनेको छ।

आफू “सुन्दर भएकै कारण आलोचना खेप्नुपरेको” आशय व्यक्त गर्दै उनले फेसबुकमा लेखेको स्टाटसपछि सामाजिक सञ्जालमा समर्थन र ट्रोल दुवै बढेका छन्।

बिज्ञापन

भट्टराईले आफ्नो पोस्टमा पछिल्ला दिनमा आएका आलोचनाप्रति असन्तुष्टि जनाउँदै केही व्यक्तिले भ्रष्टाचार जस्ता गम्भीर विषयमा बोल्न नसक्ने तर आफूलाई भने “सुन्दर देखिएको” आधारमा आलोचना गरेको टिप्पणी गरेकी छन्। उनले त्यसलाई “पाखण्डिपनको पराकाष्ठा” भन्दै व्यंग्यसमेत गरेकी छन्।

उनको पोस्टमा “अब म आलोचनाको कारण निराश हुने कि, मेरो सुन्दरताले यति धेरै ध्यान तानेकोमा?” भन्ने अभिव्यक्तिले सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान तानेको छ। त्यस्तै, “नयाँ पुस्ता राजनीति परिवर्तनका लागि आएको” र “चुप लागेर बस्ने पुस्तामा नपर्ने” उल्लेख गर्दै उनले आफूलाई खुलेर प्रस्तुत गरेकी छन्।

तर उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उनीमाथि तीव्र ट्रोल सुरु भएको देखिन्छ। कतिपय प्रयोगकर्ताले सांसदको अभिव्यक्ति अपरिपक्व र गैरजिम्मेवार भएको टिप्पणी गरेका छन् भने केहीले राजनीतिज्ञले आफ्नो कार्यक्षमता र भूमिकाबाट आलोचनाको सामना गर्नुपर्ने बताएका छन्। विशेषगरी “सुन्दरताको कारण आलोचना” भन्ने भनाइलाई लिएर विभिन्न व्यंग्यात्मक पोस्ट, मिम र टिप्पणीहरू भाइरल भइरहेका छन्।

अर्कोतर्फ,उनका समर्थकहरूले भने महिला राजनीतिज्ञमाथि हुने व्यक्तिगत टिप्पणी र बाहिरी रूपका आधारमा गरिने आलोचना नेपाली समाजमा अझै विद्यमान रहेको तर्क गरेका छन्। उनीहरूले महिलालाई राजनीतिमा कामभन्दा पनि रूपरंगसँग जोडेर मूल्यांकन गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका छन्।

सामाजिक सञ्जालको युगमा नेताहरूको व्यक्तिगत अभिव्यक्ति तत्काल सार्वजनिक बहसको विषय बन्ने गरेको छ। विशेषगरी युवा पुस्ताका नेताहरूले प्रयोग गर्ने भाषा, शैली र अभिव्यक्तिले सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया ल्याउने गरेको देखिन्छ।

श्रृष्टि भट्टराईको पछिल्लो पोस्टले नेपाली राजनीतिमा महिला नेतामाथि हुने टिप्पणी, सामाजिक सञ्जालको ट्रोल संस्कृति र सार्वजनिक व्यक्तित्वले गर्ने अभिव्यक्तिको सीमाबारे फेरि बहस सुरु गराएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka