पाँचथर । इलाममा बर्ड फ्लुको जोखिम घटेसँगै कुखुरा तथा कुखुराजन्य पदार्थको ओसारपसारमा लगाइएको प्रतिबन्ध हटाइएको छ ।
जिल्ला बर्ड फ्लु नियन्त्रण समिति इलामको बैठकले यसअघि लागू गरिएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामका प्रमुख डाक्टर राघवेन्द्र तिवारीले जानकारी दिए ।
केन्द्रले बिहीबार सूचना जारी गर्दै पशु सेवा विभाग हरिहरभवन, ललितपुरमा वैशाख २९ गते बसेको बैठकको निर्णयअनुसार जिल्लामा लागू गरिएको प्रतिबन्ध हटाइएको जनाएको हो । यसअघि वैशाख ९ गते बसेको जिल्ला बर्ड फ्लु नियन्त्रण समितिको बैठकले कुखुरा तथा कुखुराजन्य पदार्थको ढुवानी र ओसारपसारमा रोक लगाएको थियो ।
प्रतिबन्ध हटाइए पनि बर्ड फ्लु पूर्णरूपमा नियन्त्रणमा राख्न उच्च सतर्कता अपनाउन समितिले आग्रह गरेको छ । संक्रमित क्षेत्रबाट कुखुरा तथा कुखुराजन्य उत्पादन ओसारपसार नगर्न र अन्य क्षेत्रबाट ढुवानी गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने व्यवस्था यथावत् राखिएको छ ।
समितिले कुखुरा फार्ममा अनावश्यक व्यक्ति तथा सवारीसाधन प्रवेश रोक्न, प्रवेशअघि निःसंक्रमण गर्न, फुटबाथ प्रयोग गर्न तथा जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न पनि आग्रह गरेको छ ।
त्यस्तै, मरेका कुखुराको सुरक्षित व्यवस्थापन गर्न, फार्ममा काम गर्ने व्यक्तिले व्यक्तिगत सुरक्षा अपनाउन तथा ठूलो संख्यामा कुखुरा बिरामी वा मरेको अवस्थामा नजिकको पशु सेवा कार्यालय वा भेटेरिनरी अस्पताललाई तत्काल जानकारी गराउन अनुरोध गरिएको छ ।
