काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक पनि विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको सदनमा उपस्थिति र जवाफको माग गर्दै रुलिङ गर्न आग्रह गरेपछि बैठक प्रभावित बनेको हो ।
विपक्षी सांसदहरूले लगातार विरोध जनाएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । यसअघि पनि सोही विषयमा अवरोध भएपछि बैठक केही समयका लागि रोकिएको थियो ।
आजको बैठकमा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको थियो । प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रस्ताव पेस गर्न तोकिएको जानकारी सभामुखले गराएपछि वाग्ले रोस्ट्रमतर्फ अघि बढेका थिए । त्यसलगत्तै विपक्षी सांसदहरूले नाराबाजी गर्दै अवरोध सुरु गरेका हुन् ।
यसअघि सभामुख डीपी अर्यालले प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । छलफलपछि बैठक सञ्चालन गर्दै अर्थमन्त्री वाग्लेले नीति तथा कार्यक्रममाथिको छलफल प्रस्ताव प्रस्तुत गरे पनि कांग्रेस सांसदहरूले पुनः उठेर विरोध जनाएका थिए ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराई जवाफ दिन रुलिङ गर्न माग गरेका थिए । तर सभामुख अर्यालले तत्काल रुलिङ नगर्ने बताएका छन् । उनले आज प्रधानमन्त्रीसँग छलफल तय भएकाले संवादपछि मात्रै भोलिको कार्यसूचीअघि विपक्षीसँग थप छलफल गर्ने जानकारी दिएका छन् ।
