काठमाण्डौ । पछिल्लो समय निरन्तर खस्किरहेको सेयरबजारमा आजपनि गिरावट आएको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक १.२६ प्रतिशत अर्थात् ३४.६३ अंकले घटेर २ हजार ७०४.०८ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७२ प्रतिशतले घटेर ४६१.०५ विन्दुमा झरेको छ।
आज नेप्सेमा सूचीकृत ३४१ वटा स्क्रिप्टका १ करोड ७४ हजार ५२४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब २६ करोड ५३ लाख बढीको सेयर कारोबार भएको छ । गत शुक्रबार भने ४ अर्ब ९१ करोड ६६ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।
आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्, ‘बजार बढ्नका लागि सकारात्मक आधारहरु बनेपनि पछिल्लो समय बजार निरन्तर घटिरहेको छ । सेयर लगानीकर्ताहरुको मनोबल घटेकाले बजार माथि उक्लिन सकिरहेको छैन । विशेषगरी नेप्से र धितोपत्र बोर्डले कोल्याटरल सम्बन्धि ल्याएको नयाँ व्यवस्थाले लगानीकर्ताहरु निरुत्साहित बनेका छन्, जसकारण पछिल्लो समय सेयर कारोबार खुम्चिँदै गइरहेको छ ।
यो अवस्थाले लगानीकर्ताहरु ब्रोकरकै पैसाले मात्रै कारोबार गर्ने बानी परेको हो त भन्ने प्रश्न पनि उठ्न सक्छ ।’
उनले भने, ‘सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि आयोग बनाएका छन्, यो विषयले पनि लगानीकर्ताहरु अहिले पर्ख र हेरको अवस्थामा छन् । लगानीकर्ताहरु अब सरकारको नीति तथा कार्यक्रमकै प्रतिक्षामा छन् । सेयरबजार सुधारका लागि दिगो हुने खालको नीति आउने लगानीकर्ताले अपेक्षा राखेका छन् । साथै बजेटमा पनि सरकारले अर्थतन्त्र सुधार्न र पूँजीबजारलाई दिगो बनाउने खालको बजेट ल्याउने आशा गरिएको छ । अहिले बजार सामान्य घटेपनि आत्तिहाल्नुपर्ने अवस्था भने छैन ।’

