विराटनगर । ओखलढुंगामा नेपाली कांग्रेसका उम्मेदवार पराजित हुनु पार्टीको नेतृत्व र असहयोग कारण भएको प्रत्यासी उम्मेदवार कुमार लुइँटेलले बताएका छन् ।
कोसी प्रदेशमा भएको चुनावी समीक्षा कार्यक्रममा ओखलढुंगाको पराजय पार्टीका आफ्नैका कारण भएको उनले बताए ।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विश्वराज पोखरेलसँग मात्र ५ मतको अन्तरले पराजित भएका कांग्रेसका नेता लुइंटेलले आफ्नो हारको मुख्य कारण बाह्य चुनौती नभई आफ्नै पार्टीभित्रको घेराबन्दी र अन्तरघात भएको आरोप लगाएका छन्।
समीक्षा कार्यक्रममा बोल्दै लुइटेलले आफ्नै नेताको असहयोग र षड्यन्त्रका कारण आफूले पराजय भोग्नुपरेको बताए। उनको भनाइ कांग्रेसका पूर्वकेन्द्रीय सदस्य रामहरि खतिवडा र कोशी प्रदेश सरकारका मन्त्री प्रदीप सुनुवार लक्षित थियो।
त्यस्तै, कुलिङ पिरियड, भिजिट भिसा र गुटीय सञ्जालजस्ता विषयमा विपक्षीले फैलाएको भ्रम चिर्न नसक्नु र चुनावको दिनसम्म पनि वास्तविक प्रतिस्पर्धी पहिचान गर्न नसक्नु रणनीतिक कमजोरी भएको उनको भनाइ थियो। आफ्नो ५ मतको अन्तर प्राविधिक मात्र नभई पार्टीभित्रैबाट गरिएको अन्तरघातको परिणाम भएको उनको जिकिर थियो।
विशेषगरी प्रादेशिक अस्पताल बनाउने जस्ता महत्त्वपूर्ण एजेन्डाहरू ओझेलमा पारिएको र आफ्नै साथीहरूले विपक्षीसँग मिलेर घेराबन्दी गरेको उनले गुनासो गरे। बृहत्तर एकताको नाममा अन्तरघात गर्नेहरूलाई उन्मुक्ति दिन नहुने र कडा कारबाही हुनुपर्ने उनको माग छ।
कांग्रेसले कोसी प्रदेशमा आयोजना गरेको समीक्षा कार्यक्रममा हारेका अन्य नेताहरूले पनि पराजयको दोष अल्गोरिदम र अन्तरघातलाई दिएका छन्।
