Premier Cables
Premier Steel

राजनीति

कोशी प्रदेशस्तरीय कांग्रेस समीक्षाः अब रुपान्तरण भएर जनतामा जानुको विकल्प छैन्

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख ०९, २०८३  | अपराह्न २:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेशस्तरीय चुनावी समीक्षा कार्यक्रममार्फत पार्टीलाई रूपान्तरण नगरी अघि बढ्ने विकल्प नभएको निष्कर्ष निकालेको छ । कार्यक्रममा सहभागी नेताहरूले चुनावी नतिजाको समीक्षा मात्र नभई पार्टीको नेतृत्व, संगठन र सिद्धान्तमा व्यापक सुधार आवश्यक रहेकोमा जोड दिएका छन् ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य, पराजित उम्मेदवार तथा जिल्ला सभापतिहरूले आ–आफ्ना धारणा राख्दै आन्तरिक सुधार, नीतिगत स्पष्टता र संगठन सुदृढीकरण अपरिहार्य भएको बताए । उनीहरूले पार्टीप्रति जनविश्वास घट्दै गएको उल्लेख गर्दै नयाँ ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

बिज्ञापन

सभापति गगनकुमार थापा, महामन्त्री गुरुराज घिमिरे र प्रदीप पौडेलको उपस्थितिमा भएको कार्यक्रममा नेताहरूले नेतृत्वप्रतिको विश्वासमा कमी, भ्रष्टाचारको आरोप र कमजोर कार्यशैलीका कारण जनतामा निराशा बढेको धारणा राखे । डिजिटल युगअनुसार सूचना प्रवाह र जनसम्पर्कमा पनि पार्टी कमजोर देखिएको उनीहरूको भनाइ थियो ।

नेता राजेन्द्र घिमिरेले ‘जरा अभियान’लाई प्रभावकारी रूपमा अघि बढाउन स्पष्ट योजना आवश्यक रहेको बताए भने देउमान थेवेले समीक्षा प्रक्रिया र क्रियाशील सदस्यताको व्यवस्थापनबारे ठोस निर्णय गर्नुपर्ने आवश्यकता औंल्याए । दीपनकुमार श्रेष्ठले पार्टीलाई नवीन ढंगले अघि बढाउँदै आन्तरिक एकता मजबुत बनाउनुपर्ने बताए ।

त्यस्तै फूलकुमार लालवानीले पार्टी शुद्धीकरणको आवश्यकता औंल्याउँदै सुधार र कारबाही सँगसँगै अघि बढ्नुपर्ने धारणा राखे । विरकाजी राईले गुटबन्दी र आन्तरिक समस्या चुनावी हारको प्रमुख कारण बनेको बताए । सोलुखुम्बुबाट निर्वाचित प्रकाश सिंह कार्कीले एकताबद्ध रूपमा काम गरेमा कांग्रेसले जित हासिल गर्न सक्ने विश्वास व्यक्त गरे ।

वक्ताहरूले गुटबन्दी, आन्तरिक असमझदारी र क्रियाशील सदस्यता व्यवस्थापनमा देखिएका कमजोरीले चुनावी परिणाममा असर पारेको निष्कर्ष निकाले । साथै, पार्टी शुद्धीकरण, अनुशासन र आवश्यक कारबाहीमार्फत संगठनलाई सुदृढ बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा नयाँ नेतृत्व विकास, युवापुस्तालाई आकर्षित गर्ने नीति तथा समावेशी र एकीकृत कांग्रेस निर्माणमा जोड दिइएको थियो । सहभागी नेताहरूले “पराजित भयौं तर हारेका छैनौं, अब पुनर्निर्माण गरेर अघि बढ्नुपर्छ” भन्ने साझा धारणा व्यक्त गरे ।

नेपाली कांग्रेस कोशी प्रदेश समितिका अनुसार प्रदेशस्तरीय संगठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा र आगामी रणनीति तय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka