काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार (चैत २७) उनलाई परिवारको जिम्मा लगाउँदै छाडेको हो। ‘अभद्र व्यवहार’ सम्बन्धी आरोपमा उनी पाँच दिनअघि पक्राउ परेका थिए।
बलेविरुद्ध अमेरिकामा बसोबास गर्ने एक महिलाले जबर्जस्ती करणीको आरोप लगाएकी छन्। सोही प्रकरणमा आवश्यक परेमा उपस्थित हुने सर्तमा प्रशासनले उनलाई परिवारको जिम्मा लगाएको जनाएको छ।
ती महिलाले न्यूयोर्क पुलिस डिपार्टमेन्टमा समेत उजुरी दिएको बताइएको छ। साथै, उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई बलात्कार गरिएको आरोप सार्वजनिक गरेकी थिइन्।
उक्त आरोप सार्वजनिक भएपछि प्रहरीले गत शनिबार काठमाडौंको बूढानीलकण्ठबाट बलेलाई पक्राउ गरेको थियो। त्यसपछि ‘अभद्र व्यवहार’ मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गर्दै उनलाई हिरासतमा राखिएको थियो।
