Premier Cables
Premier Steel

राष्ट्रिय

विराटनगरमा घर निर्माण प्रदर्शनी शुरु, अर्को वर्षदेखि पूँजीगत खर्च बढाउने मुख्यमन्त्रीको घोषणा

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र १२, २०८२  | राती ८:१० बजे
Hamro Biratnagar Headlines

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आगामी आर्थिक वर्षदेखि गुणस्तरीय निर्माणलाई प्राथमिकता दिँदै पूँजीगत खर्चलाई व्यवस्थित रूपमा बढाउने योजना रहेको बताउनुभएको छ।

उहाँका अनुसार, खर्चको प्रभावकारिता बढाउन प्रत्येक चौमासिकमा लक्ष्य निर्धारण गरी कार्यान्वयन गरिनेछ। प्रदेशको बजेट खर्च वृद्धि गर्दै अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सरकार केन्द्रित रहने उहाँले उल्लेख गर्नुभयो।

बिज्ञापन

उहाँले विगतका वर्षहरूमा अन्य संरचनाको तुलनामा प्रदेश सरकारले वित्तीय प्रगतिमा उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गर्दै यस वर्ष पनि सोही उपलब्धि दोहोरिने विश्वास व्यक्त गर्नुभयो।

विराटनगरमा उद्योग संगठन मोरङद्वारा आयोजित घर निर्माण सम्बन्धी प्रदर्शनीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले जनताको आधारभूत आवश्यकतासँग जोडिएको आवास क्षेत्रलाई लक्षित गर्दै मेला आयोजना गर्नु सराहनीय कदम भएको बताउनुभयो। साथै, भूकम्प, आगलागी, हावाहुरी र चट्याङ जस्ता जोखिमबाट सुरक्षित घर निर्माणबारे जनचेतना फैलाउन संगठनलाई सुझाव दिनुभयो।

मुख्यमन्त्री कार्कीले विराटनगरमा उपयुक्त स्थानमा चारदेखि पाँच कठ्ठा जग्गा उपलब्ध गराइएमा आगामी दुई वर्षभित्र आधुनिक र सुविधासम्पन्न प्रदर्शनी केन्द्र निर्माण गर्ने प्रतिबद्धता समेत जनाउनुभयो। उहाँले विराटनगरमा आयोजना हुने यस्ता प्रदर्शनीहरूले निर्माण व्यवसायी तथा सर्वसाधारण दुवैलाई प्रत्यक्ष लाभ पुग्ने धारणा राख्नुभयो।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष भोलेश्वर दुलाल, प्रदर्शनी संयोजक सुरेन्द्र गोल्छा तथा उद्योग व्यापार संघ मोरङका अध्यक्ष अनुपम राठीले निर्माण क्षेत्रलाई सक्रिय बनाउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

प्रदर्शनीको मुख्य उद्देश्य नेपाली निर्माण सामग्री तथा सेवाको प्रवर्द्धन, स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा आयात प्रतिस्थापनमार्फत निर्माण क्षेत्रलाई आत्मनिर्भर बनाउनु रहेको छ।

अध्यक्ष राठीका अनुसार, प्रदर्शनीमा घर निर्माणसम्बन्धी सम्पूर्ण जानकारी, प्राविधिक जनशक्ति तथा आवश्यक सामग्री एकै स्थानमा उपलब्ध हुनेछ। यस प्रकारको प्रदर्शनी यस क्षेत्रमा पहिलो पटक आयोजना गरिएको हो, जसमा ७५ वटा स्टल रहनेछन्।

प्रदर्शनीमा वास्तुकला, संरचनात्मक इञ्जिनियरिङ, परामर्श सेवा, सिमेन्ट, इटा, स्टिल, वाटरप्रुफिङ, इन्सुलेसन, स्यानिटरी तथा प्लम्बिङ सामग्री, पानी प्रशोधन प्रणाली, विद्युत तथा ऊर्जा समाधान, सौर्य प्रणाली, स्मार्ट होम प्रविधि, लिफ्ट, साउन्ड प्रुफिङ र सुरक्षा प्रणालीजस्ता विभिन्न उत्पादन तथा सेवाहरू समेटिनेछन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka