विराटनगर । विराटनगरमा छायांकन गरिएको दुईवटा नेपाली भाषाका छैठ गीत सार्वजनिक गर्ने तयारी गरिएको छ।
पारम्परिक धुनमा आधारित यी गीतहरूलाई चैती छैठको अवसर पारेर दर्शकमाझ ल्याउने निर्माण पक्षको योजना छ।
विराटनगरस्थित सिंघीया खोलामा आइतबार छायांकन गरिएको यी गीतमध्ये ‘अँजुली भरि जल लिई आयौं हे माता’ र ‘माता कल्याणी तिमी हौ मिथिलेश्वरी, जगतको कल्याण गर छैठ परमेश्वरी’ बोलका गीत समावेश छन्। यीमध्ये पहिलो गीतको अडियो भने गत कात्तिक महिनामै सार्वजनिक भइसकेको छ।
विशेषगरी दोस्रो गीतमा कोशी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री भीम पराजुली प्रमुख भूमिकामा देखिनुहुनेछ। उहाँसँगै धर्मपत्नी रञ्जिता पराजुलीले पनि अभिनय गर्नुभएको छ, जसले गीतलाई अझ आकर्षक बनाउने अपेक्षा गरिएको छ।
दुवै गीतका रचनाकार विराटनगरका पत्रकार नवीन कर्ण हुन् भने संगीत शैलेन्द्र विश्वकर्माले भरेका छन्। ‘अँजुली भरि जल लिई आयौं हे माता’ गीतमा किरण ब्यास र ईशा यादवले अभिनय गर्नुभएको छ।
निर्देशन तथा सम्पादन कात्र्तिक राजवंशीले गर्नुभएको हो भने छायांकन किशोर राजवंशी र कलर करेक्सन पवन सहनीले सम्हालेका छन्। स्वरतर्फ ‘माता कल्याणी तिमी हौ मिथिलेश्वरी’ गीतमा ज्योति विश्वकर्मा र सानुमैयाँ यादवको आवाज रहेको छ भने अर्को गीतमा सुमित खड्का र सानुमैयाँ यादवले स्वर दिनुभएको छ।
मैथिली अनलाइनको ब्यानरमा निर्माण गरिएका यी दुवै गीतहरू सोही युट्युब च्यानलमार्फत सार्वजनिक गरिने जनाइएको छ।
