विराटनगर। नेपाली कांग्रेसका अधिकतर केन्द्रीय सदस्यहरुले पार्टी सभापति गगन कुमार थापाको राजीनामा अस्विकृति गर्नुपर्ने धारणा राखेका छन् ।
पार्टी प्रवक्ता देवराज चालिसेले केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश सदस्यहरूले सभापति थापाको राजीनामा अस्वीकार गर्नुपर्ने धारणा राखिरहेको जानकारी दिएका छन् ।
शुक्रबार दिउँसोदेखि सुरु भएको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सभापतिले पेश गरेको राजीनामामाथि छलफल जारी रहेको जानकारी दिए।
चालिसेका अनुसार, सभापतिले नैतिक जिम्मेवारी लिने कुरा उठाए पनि वर्तमान परिस्थितिलाई सम्हाल्दै पार्टी पुनर्निर्माणमा लाग्नुपर्ने भन्दै बहुसंख्यक सदस्यहरूले राजीनामा स्वीकार नगर्न सुझाव दिएका छन्।
उनले हालको निर्वाचन परिणामलाई व्यक्तिगत कमजोरीसँग जोड्न नमिल्ने पनि स्पष्ट पारे। उनका अनुसार यो नतिजा लामो समयदेखि विकसित हुँदै आएको अवस्था हो र नेतृत्वलाई काम गर्ने पर्याप्त समय नपाएको कारण यस्तो परिणाम आएको हो।
