विराटनगर । मेरो कोडिङ क्लास र क्लोभ आईटी विराटनगरको संयुक्त आयोजनामा विराटनगरमा पहिलो पटक ‘जुनियर कोड फेस्ट’ सम्पन्न भएको छ। प्रतियोगिताअन्तर्गत ब्लक बेस्ड कोडिङ विधातर्फ हेरिटेज इन्टरनेशनल स्कुल विराटनगरका विद्यार्थीहरू च्याम्पियन बनेका छन्।
सात विद्यालयका १६ समूहको सहभागिता रहेको प्रतिस्पर्धामा हेरिटेजका कक्षा ५ का श्रीयोग नेपाल, आरोहण रेग्मी र कक्षा ४ का उत्कर्ष रोहन दास सम्मिलित टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको हो। उनीहरूले तयार पारेको ‘ज्यामेट्री ड्यास’ परियोजना निर्णायक मण्डलीबाट उत्कृष्ट ठहरिएको आयोजकले जनाएको छ। विजेता टोलीले नगद २५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको क्लोभ आईटीका प्रवन्ध निर्देशक नरेन्द्र कर्णले जानकारी दिए। यही टोलीले दुई साता अघि काठमाडौंमा आयोजित देशव्यापी ‘कोडिङ किकस्टार्ट’ प्रतियोगितामा समेत फाइनल चरणसम्म स्थान बनाएको थियो।
यसैगरी, एप डेभ्लपमेन्ट विधातर्फ मदर टेरेसा स्कुलका तीन विद्यार्थीको समूह तथा आइओटी एन्ड रोबोटिक्सतर्फ ग्रेडेड इङ्लिस मिडियम सेकेन्डरी स्कुल विराटनगरका तीन विद्यार्थीको टोली च्याम्पियन बनेका छन्। यी दुवै टोलीले पनि सामूहिक रूपमा नगद २५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्।
प्रतियोगितामा ब्लक बेस्ड कोडिङतर्फ कक्षा ३ देखि ५, एप डेभ्लपमेन्टतर्फ कक्षा ६ र ७ तथा आइओटी एन्ड रोबोटिक्सतर्फ कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागी भएका थिए। तीनै विधाका विजेतालाई कार्यक्रमका प्रमुख अतिथि मेरो कोडिङका प्रवन्ध निर्देशक सविन कार्की र क्लोभ आईटीका प्रवन्ध निर्देशक कर्णलगायतले पुरस्कृत गरेका थिए।
जुनियर कोड फेस्टमा विराटनगरका हेरिटेज इन्टरनेशनल, पोखरिया स्कुल, डीएभी स्कुल, ग्रिन पिस एकेडेमी, अरनिको आवासीय स्कुल, मदर टेरेसा र ग्रेडेड इङ्लिस मिडियम सेकेन्डरी स्कुलका विद्यार्थीहरूको सहभागिता रहेको थियो। सहभागी समूहहरूले तयार पारेका परियोजनाको अवलोकन र प्रस्तुतीका आधारमा निर्णायक मण्डलीले नतिजा घोषणा गरेको आयोजकले जनाएको छ।
प्रवन्ध निर्देशक कर्णका अनुसार स्नातक तहमा आवश्यक पर्ने आईटीसम्बन्धी प्रयोगात्मक अभ्यासलाई आधार तहदेखि नै प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। मेरो कोडिङ क्लास र क्लोभ आईटीले विराटनगरमा कोडिङ अध्ययन गरिरहेका विद्यालयहरूबीच प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न कार्यक्रम आयोजना गरेका हुन्।


