विराटनगर । डा.शेखर कोइरालाले चुनावी प्रचार–प्रसार खुला भएसँगै आफ्नो अभियानलाई तीव्र बनाएका छन्। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा मोरङ क्षेत्र नं. ६ का उम्मेदवार कोइरालाले प्रारम्भिक चरणमा पार्टीका भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी र कार्यकर्तासँग छलफल गरेपछि अहिले घरदैलो कार्यक्रममार्फत मतदातासम्म पुगिरहेका छन्।
आन्तरिक प्रशिक्षण तथा आवश्यक तयारी पूरा गरेपछि उनले वडागत रूपमा टोल–टोल पुगेर चुनावी कार्यक्रम सञ्चालन गरिरहेका छन्। विराटनगर–१२ मा आयोजित एक कार्यक्रममा बोल्दै उनले महेन्द्र मोरङ क्याम्पसको विज्ञान भवन आफ्नै पहलमा निर्माण भएको दाबी गरे। उनका अनुसार पाँच करोड रुपैयाँ बजेट आफ्नै पहलमा ल्याएर सो भवन निर्माण सम्पन्न गरिएको हो।

कार्यक्रममा उनले भने, “मोरङ कलेजभित्र छुट्टै विज्ञान क्याम्पस देख्नुभएको छ, त्यो मैले नै पाँच करोड रुपैयाँको योजना ल्याएर निर्माण गराएको हुँ।” उनले क्याम्पसको शैक्षिक पूर्वाधार सुधारमा निरन्तर लागिपरेको उल्लेख गर्दै आगामी दिनमा प्रयोगशाला, स्रोत-साधन र भौतिक संरचना विस्तार गर्न आवश्यक रहेको बताए।
उनले विराटनगर–१२ लाई डुवानमुक्त बनाउने प्रतिबद्धता पनि दोहोर्याए।
कोइरालाले यस क्षेत्रको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि थप लगानी आवश्यक रहेको धारणा राख्दै समयानुसार शैक्षिक संस्थाहरूको आधुनिकीकरण अनिवार्य भएको बताए। साथै, आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउन आग्रह गर्दै आफूले सुरु गरेका विकासका कामलाई निरन्तरता दिन जनसमर्थन आवश्यक रहेको उल्लेख गरे।
उनले विराटनगर–१२ लाई डुवानमुक्त बनाउने प्रतिबद्धता पनि दोहोर्याए। वर्षायाममा केसलिया खोलाबाट हुने समस्या समाधानका लागि सुदृढ तटबन्धन निर्माणलाई प्राथमिकतामा राख्ने योजना उनले प्रस्तुत गरे। “केसलिया खोलाले वर्षेनी यहाँका बासिन्दालाई दुःख दिँदै आएको छ, तटबन्धन निर्माण गरेर डुवान समस्या समाधान गर्ने मेरो स्पष्ट योजना छ,” उनले भने।
उनका अनुसार स्थानीय, प्रदेश र संघीय सरकारबीच प्रभावकारी समन्वयबाट मात्र दिगो विकास सम्भव छ। विराटनगर–१२ ठूलो तथा सम्भावनायुक्त वडा भएकाले सडक, पुल–पुलेसा, ढल निकासलगायत पूर्वाधार विकासलाई तीव्रता दिनुपर्नेमा उनले जोड दिए।यसैबीच, नेपाली कांग्रेस विराटनगर–१२ ले पनि घरदैलो कार्यक्रमलाई तीव्र बनाएको जनाएको छ। सभापति यादवसहितको टोलीले टोल–टोलमा पुगेर मतदातासँग भेटघाट तथा छलफल गरिरहेको छ।
चुनावी माहोल तातिँदै जाँदा विराटनगर–१२ मा विकास, पूर्वाधार विस्तार र डुवान नियन्त्रण मुख्य चुनावी मुद्दाका रूपमा उभिएका छन्। विज्ञान भवन निर्माणसम्बन्धी कोइरालाको दाबी र डुवानमुक्त नगर बनाउने प्रतिबद्धताले स्थानीय राजनीतिक वातावरण थप चासोपूर्ण बनेको छ। साथै, उनले संघीय निर्वाचन २०८२ फागुन २१ गतेको सन्दर्भमा पनि विराटनगर–१२ का मतदातासँग साक्षात्कार गरेका छन्।
*** समाप्त ***
