Premier Cables
Premier Steel

कोशी प्रदेश

मोरङका उमेदवारको चुनावी प्रतिवद्धताः कसले के एजेण्डा उठाए ?

Calendar मंगलबार, फाल्गुण ०५, २०८२  | साँझ ५:०३ बजे

विराटनगर । मोरङका उमेदवारहरुले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गर्ने क्रम बढेको छ ।

प्रमुख राजनीतिक दलका उमेदवारले आफ्ना चुनावी एजेन्डा र क्षेत्र विकाससहितको घोषणा पत्र सार्वजनिक गरिरहेका छन् । केन्द्रमा प्रमुख दलले चुनावी घोषणा पत्र सार्वजनिक गर्नुअघि नै उमेदवारहरुले आफ्ना मतदातालाई रिझाउने उद्देश्यसाथ चुनावी प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।

मोरङ क्षेत्र नम्बर ४ का एमाले उमेदवार जीवन घिमिरे, मोरङ ५ का एमाले उमेदवार मनोजकुमार अग्रवाल र ५ कै जसपा उमेदवार राजकुमार यादवले आ–आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।

घिमिरेले भदौ २३ र २४ गतेको प्राकृतिक विपत्तिबाट ध्वस्त संरचनाको पुनर्निर्माण, कटहरी–ग्रामथान–बेलबारीलाई तरकारी पकेट क्षेत्र घोषणा तथा झोराहाटमा कोल्ड स्टोर स्थापनाको पहल गर्ने प्रतिबद्धता जनाएका छन्। यसैगरीे तमोर–चिसाङ डाइभर्सन आयोजना सञ्चालन, सिँचाइका लागि डीप बोरिङ, किसानलाई समयमै बीउमल उपलब्ध गराउने व्यवस्था मिलाउने उनको प्रतिवद्धता पत्रमा उल्लेख छ ।

स्वास्थ्यतर्फ बेलबारी, ग्रामथान र कटहरीमा १०० बेड अस्पताल स्थापना,सिंघीया नदी तट सौन्दर्यकरण, धनपालथान, बालुघाट र बजरंगबली क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने, विराटनगरमा आइटी हब स्थापना र रोजगार बैंक अवधारणा कार्यान्वयन गर्ने योजना उनले अघि सारेका छन् ।

एमालेका मनोज कुमार अग्रवालले रंगेली–विराटनगर हुलाकी मार्गलाई मापदण्डअनुसार स्तरोन्नति गरी आधुनिक मार्ग बनाउने र विराटनगर–१३ देखि १८, जहदा र धनपालथान गाउँपालिका तथा रंगेली नगरपालिकाका चयनित सडकहरू पाँच वर्षभित्र कालोपत्रे र ढल निर्माणसहित सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कृषि र सिँचाइ क्षेत्रमा पनि उनले विराटनगर–रंगेली क्षेत्रका वडाहरू, विशेषगरी धनपालथान र जहदालाई विशेष कृषि जोनका रूपमा विकास गर्ने योजना प्रस्तुत गरे। साथै बक्राहा चिसाङ, लोहन्द्रा सिघिंया, केशलिया जस्ता खोलानालाको सिँचाइ र बाढी नियन्त्रणका लागि आवश्यक तटबन्ध निर्माण गर्ने बताए।

रंगेली अस्पताललाई आधुनिक सुविधा सम्पन्न बनाउने

शिक्षा र स्वास्थ्यमा सुधार ल्याउने लक्ष्यका साथ उनले सबै सामुदायिक विद्यालयको स्तरोन्नति गर्ने र रंगेली अस्पताललाई आधुनिक सुविधा सम्पन्न बनाउने, धनपालथान, जहदा र विराटनगर–रानी क्षेत्रमा थप अस्पताल निर्माण गर्ने योजना सार्वजनिक गरेका छन् ।
उद्योग, व्यापार र रोजगारीको क्षेत्रमा पनि अग्रवालले बन्द उद्योगहरू पुनः सञ्चालनमा ल्याउने र सरकारी जग्गामा ‘विराट औद्योगिक क्षेत्र’ स्थापना गरी नयाँ उद्योग स्थापना गर्ने योजना घोषणा गरे।

धार्मिक र सांस्कृतिक सम्पदा–मठ, मन्दिर, मस्जिद, बौद्ध गुम्बा र चर्चको पुनर्निर्माण तथा स्तरोन्नति गर्ने प्रतिबद्धता पनि उनले जनाए। साथै शान्ति, सुशासन र भ्रष्टाचार नियन्त्रणका साथै युवा, महिला, ज्येष्ठ नागरिक, निमुखा र अशक्त वर्गको हितमा विशेष पहल गर्ने बताए।

जसपाका राजकुमार यादवले आफ्नो प्रतिवद्धता पत्रमा सामुदायिक विद्यालयलाई सीपमुलक र प्राविधिमैत्री बनाउने, विपन्न र जेहेन्दार विद्यार्थीलाई अवसरबाट बञ्चित हुन नदिने, उच्च शिक्षामा स्थानीयस्तरमै अवसर सिर्जना गर्ने, हरेक वडामा प्रभावकारी स्वास्थ्य सेवा दिने, बन्द उद्योग पुनःसंचालन गर्ने वातावरण बनाउने, सीप विकास, स्टार्टअप र स्वारोजगारमा प्रत्यक्ष सहयोग गर्ने, बाँझो पर्ती जमिन राख्न नदिने र उत्पादन बढाउने, दुग्ध, तरकारी, फलफूल तथा पशुपालनमा शिवेष अभियान संचालन गर्ने उल्लेख गरेका छन् ।
यादव भन्छन्,‘‘म विगतमा पनि यो क्षेत्रमा उमेदवार थिएँ तर जित्न सकिएन यो पटक जितेर गएँभने जनभावनाअनुसार काम गर्नेछु ।’’

अग्रवालले मोरङ–५ लाई समग्र रूपमा विकास र समृद्ध बनाउने लक्ष्यसहित प्रतिबद्धतापत्र सार्वजनिक गरेको उल्लेख गर्दै चुनावको नतिजा जे भए पनि जनतासँग सधैं काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

जनतासँग सधैं काम गर्ने प्रतिबद्धता व्यक्त

नेपाली कम्युनिष्ट पार्टीबाट मोरङ १ का उमेदवार कुशल लिम्बूले समग्र क्षेत्रमा शिक्षा, स्वास्थ्य, रोजगारीका सशक्त रुपमा काम गर्ने आफ्नो योजनासहितको प्रतिवद्धता सार्वजनिक गरेका छन् । लिम्बू भन्छन्,‘‘म एक कार्यकाल प्रदेश सभामा समेत रहेर काम गरेको अनुभव छ, संघीय संसदमा पुगेभने कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता पनि जनाउँछु ।’’

मोरङ क्षेत्र नं. १ लाई पर्यटन केन्द्रको रूपमा विकास गर्ने र ५० लाख मानिसलाई बसोबास गर्न सहज हुने गरी आधुनिक सहर निर्माण गर्ने योजना उनले अघि सारेका छन् । सुपारी खेती र अन्य नगदेबालीलाई ‘राष्ट्रबाली’ का रूपमा सूचीकृत गराउने, उर्लाबारीलाई आर्थिक र प्रशासनिक केन्द्रको रूपमा विकास गर्ने तथा शिक्षा र स्वास्थ्य पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखिएको छ ।

शासन व्यवस्थामा सुधारको माग गर्दै पार्टीले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित शासकीय स्वरूप परिवर्तन गर्न आवाज बुलन्द गर्ने र भ्रष्टाचार निर्मूल गरी सुशासन कायम गर्ने उनको प्रतिबद्धतामा उल्लेख गरिएको छ । हरेक पालिकामा ‘सेफ हाउस’ स्थापना गर्ने र सिंहदरबारको अधिकार गाउँमा पु¥याउने लगायतका एजेण्डाहरू पनि उनले समेटेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka