विराटनगर । उपनिर्वाचनमा मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पदमा जित्दा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्यहाँका नेता अमनलाल मोदीलाई टेलिफोन गरेर ‘स्यावास मोदी जी’ भन्दै ढाडस दिएका थिए ।
प्रचण्डले टेलिफोन गर्दाको भिडियो उनी निकटले भाइरल गराएका थिए । तर, कहिले सासूको पालो, कहिले बुहारीको भने झैं यस पटक अवस्था विपरीत छ । गठबन्धन गर्दा कांग्रेसी मतदाताको साथ पाएका मोदीलाई यस पटक त्यो अवसर छैन् ।
कांग्रेस परित्याग गरेका नमोनारायण माझीले ग्रामथान गाउँपालिका अध्यक्षमा सानदार जितेका थिए । तर, केही समय बित्न नपाउँदै ग्रामथानको अद्योगति शुरु भयो । ग्रामथानमा कार्यपालिका बैठकको लफडा र बारम्बार उच्च अदालत धाउनु पर्ने स्थितिका कारण जन विकासको काम नै लथालिङ्ग बन्यो । नमोनारायणले विकासका नाममा सिन्को भाँच्न सकेनन् ।
पहिले जिताउँदा त्यसको श्रेय पाएका मोदीलाई अहिले ग्रामथान नै घाँडो बनेको छ । जुन उत्साह जितका बेला थियो जनताको काम नभएपछि विवाद र लफडाको पर्यायमात्र बनेको छ ग्रामथान ।
अध्यक्ष माझी कहिले उप–मेयरको गाडीको चाबी खोस्ने त कहिले कार्यपालिका सदस्यसित सडकमै झगडा गर्ने गरेको भिडियो भाइरल भइरहे । गाउँपालिका उपाध्यक्ष गुणावती चौधरीलाई गरेको हेपाइतीको प्रतिकार गर्दै एमाले पक्षका कार्यपालिका सदस्यहरुले माझीको प्रतिवादन गरिरहे । माझीले मिलेर काम अघि बढाउन सकेनन् । बरु आक्रमण र गलफद्दी गरिरहे ।
विवाद र लफडा गरिरहने माझीका कारण अहिले चुनावी माहोलका बेला ग्रामथान नै मोरङ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यमा नेपाली कम्युनिष्ट पार्टीका उमेदवार अमनलाल मोदीलाई घाँडो भएको छ । मोदीले स्थानीय सर्वसाधारणसँगको भेटघाटमा आफूले क्षेत्रको विकासको लागि धेरै काम गरेको बताउने गरेका छन् । तर, स्थानीयलाई भने ग्रामथानको लफडा घाउ चहराई रहेजस्तै भएको बताउने गरेका छन् ।
१ लाख १९ हजार २५५ मतदाता रहेको मोरङ–४ थारु बाहुल्य क्षेत्र हो । ग्रामथान र कटहरी गाउँपालिका सबै वडासहित विराटनगरको १, २, ३, ८, १०, १९ बेलबारीको ५, ६ र ७ गरी जम्मा २३ वटा वडा यो क्षेत्रमा पर्छन् ।
पुरुष मतदाता ६१ हजार १९२ र महिला मतदाताको संख्या ५८ हजार ६२ छ । १ जना अन्य मतदाता रहेका छन् । मतदानका लागि यस क्षेत्रमा ४० वटा मतदानस्थल र १३१ वटा मतदान केन्द्र तोकिएका छन् ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमाले नै बलियो देखिएको थियो । यो क्षेत्रको २३ वडाहरूमध्ये एमालेले १८ वटा वडा जितेको छ । नेपाली कांग्रेसले ३ वडा र माओवादी केन्द्रले मात्र १ वडा जितेको थियो ।
२०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा अमनलाल मोदीले ३० हजार ६१२ सहित विजयी हुँदा एमाले उम्मेदवार विनोद ढकालले २४ हजार ४६३ मत प्राप्त गरेका थिए ।
त्यसबेल गठबन्धनको साथ लिएर मोदीले विजयको झन्डा फहराएका थिए । यस पटक उनलाई गठबन्धनको साथ छैन् बरु ग्रामथानले बिगारेको साख छ ।
यस पटक विराटनगर सहरी क्षेत्रका मतदाताले पनि उनलाई पत्याएका छैनन् । रास्वपा उमेदवारको उपस्थितिले पनि सांगठनिक र आफ्नो मात्र पार्टीको मतको हिसाबले कमजोर नेकपाको मात्र साथले मोदीको हाल के हुने हो चुनावी नतिजाले नै देखाउने छ ।
