काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार खगेन्द्र सुनारलाई सचेत गराएको छ ।
पार्टीले भविष्यमा उनका अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता तथा सार्वजनिक मर्यादा कायम गर्न ध्यान दिन आग्रह गरेको छ ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा उम्मेदवार सुनारलाई यस विषयमा औपचारिक रूपमा सचेत गराइएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “पार्टीले उम्मेदवार सुनारलाई सो सम्बन्धमा सचेत गराउनुका साथै आगामी दिनमा आफ्ना अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम गर्न ध्यानाकर्षण गराएको छ । उहाँको उद्देश्य कुनै पनि धर्म, संस्कृति वा राष्ट्रिय प्रतीकको अपमान गर्ने नभएको कुरामा पार्टी आश्वस्त छ ।”
महामन्त्री बुर्लाकोटीले सामाजिक सञ्जालमा उम्मेदवार सुनारलाई लिएर देखिएको आमचासोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण रहेको पनि स्पष्ट पारेका छन् ।
