काठमाडौं । अमेरिकामा यही वर्ष मध्यावधि चुनाव हुँदै छ । मध्यावधि चुनावका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रचारमा जुटेका छन् ।
आयोवामा आयोजित र्यालीमा ट्रम्पले फेरि ‘धाँधलीपूर्ण चुनाव’को दाबी दोहोर्याउँदै समर्थकहरूलाई उत्साहित बनाए । उनले राष्ट्रपति पदका लागि फेरि दाबी गर्ने संकेत गरेका छन् ।
आयोवाको क्लाइभमा भीडलाई सम्बोधन गर्दै उनले सन् २०२० को राष्ट्रपतीय चुनाव धाँधलीपूर्ण भएको बताए । उनले किफायती आवासको मुद्दामा आफ्नो रेकर्डको बचाउ गरे । नोभेम्बरमा हुने मध्यावधि चुनावअघि रिपब्लिकन उमेदवारहरूका लागि आक्रामक प्रचार गर्ने रणनीति प्रस्तुत गरे ।
अमेरिकामा सन् २०२६ को मध्यावधि चुनावका लागि राजनीतिक वातावरण तातेको छ । आयोवाको र्यालीमा ट्रम्पले महँगी र जीवनयापनको लागतजस्ता मुद्दामा आफ्नो सरकारका नीतिहरूको बचाउ गरे । र, रिपब्लिकन उमेदवारहरूको समर्थनमा जोडदार चुनाव प्रचार गर्ने बताए ।
सम्बोधनकै क्रममा ट्रम्पले संवैधानिक सीमाका बावजुद राष्ट्रपति पदका लागि अर्को कार्यकालको सम्भावनाको संकेत गरे । उनले समर्थकहरूसँग सोधे, “के हामी चौथो पटक प्रयास गर्नुपर्छ ?”
अमेरिकी संविधानअनुसार कुनै व्यक्ति अधिकतम दुई पटकमात्र राष्ट्रपति बन्न सक्छ । ट्रम्पको फेरि दाबी गर्ने संकेतले देशभित्र नयाँ राजनीतिक विवाद निम्त्याउन सक्छ ।
ह्वाइट हाउसका अनुसार ट्रम्प आगामी महिनामा महत्वपूर्ण राज्यहरूमा चुनाव प्रचार गर्नेछन् र पार्टी उमेदवारहरूको समर्थनमा र्यालीहरू आयोजना गर्नेछन् ।
हालै उनले भनेका थिए, “म धेरै चुनावी यात्रा गर्नेछु ।” यद्यपि, ट्रम्पले मध्यावधि चुनाव सत्तारूढ राष्ट्रपतिको पार्टीका लागि चुनौतीपूर्ण हुने अमेरिकी इतिहासको स्वीकार पनि गरे । उनले भने, “मध्यावधि चुनावमा वर्तमान राष्ट्रपतिहरूको प्रदर्शन राम्रो हुँदैन ।”
३ नोभेम्बरमा मध्यावधि चुनाव
ट्रम्पले पहिल्यै नर्थ क्यारोलिना, पेन्सिल्भेनिया र मिसिगनजस्ता ‘स्विङ स्टेट्स’मा चुनावी र्यालीहरू गरिसकेका छन्, जसलाई आगामी चुनावमा निर्णायक मानिन्छ । अमेरिकामा ३ नोभेम्बरमा मध्यावधि चुनाव हुनेछ, जसमा तल्लो सदनका सबै ४३५ सिट र सिनेटका १०० मध्ये ३५ सिटमा मतदान हुनेछ ।
