विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङका छवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन सम्पन्न भएको छ।
मंगलबार सम्बन्धित छवटै निर्वाचन अधिकृतको कार्यालयमा मुख्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी कुल ११८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै क्षेत्रमा उत्साहजनक सहभागिता देखिएको छ।
निर्वाचन क्षेत्रअनुसार उम्मेदवारी विवरण
मोरङ क्षेत्र नम्बर १
१ लाख २८ हजार ५४५ मतदाता रहेको यस क्षेत्रमा १८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसबाट खड्ग फागो, एमालेबाट घनश्याम खतिवडा, नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसाद साम्बा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट यज्ञमणि न्यौपाने उम्मेदवार बनेका छन्।
यहाँ ५ जना स्वतन्त्र उम्मेदवार छन्। गत निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसका डिगबहादुर लिम्बू निर्वाचित भएका थिए।
मोरङ क्षेत्र नम्बर २
यस क्षेत्रमा १७ जनाको उम्मेदवारी परेको छ। कांग्रेसबाट डा. मिनेन्द्र रिजाल, एमालेबाट दिलिप बगडिया, नेपाली कम्युनिस्ट पार्टीबाट चन्द्रवीर राई र रास्वपाबाट कृष्णकुमार कार्की चुनावी प्रतिस्पर्धामा छन्। यहाँ ४ जना स्वतन्त्र उम्मेदवार छन्। गत निर्वाचनमा यस क्षेत्रबाट ऋषिकेश पोखरेल विजयी भएका थिए।
मोरङ क्षेत्र नम्बर ३
१ लाख ५८ हजार ५७ मतदाता रहेको मोरङ–३ मा ७ जना स्वतन्त्रसहित कुल २१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसबाट डा. सुनिल शर्मा, एमालेबाट इरान राई, नेपाली कम्युनिस्ट पार्टीबाट डा. देवेन्द्र साम्बाहाम्फे र रास्वपाबाट गणेश कार्की उम्मेदवार बनेका छन्। अघिल्लो निर्वाचनमा पनि यही क्षेत्रबाट डा. शर्मा निर्वाचित भएका थिए।
मोरङ क्षेत्र नम्बर ४
१ लाख १९ हजार २५५ मतदाता रहेको यस क्षेत्रमा ४ जना स्वतन्त्रसहित २१ जनाको उम्मेदवारी परेको छ। कांग्रेसबाट गुरुराज घिमिरे, एमालेबाट जीवन घिमिरे, नेपाली कम्युनिस्ट पार्टीबाट अमनलाल मोदी र रास्वपाबाट सन्तोष राजवंशी उम्मेदवार छन्। मोदी गत निर्वाचनका विजेता हुन्।
मोरङ क्षेत्र नम्बर ५
सबैभन्दा बढी २२ जनाको उम्मेदवारी परेको क्षेत्र यही हो। कांग्रेसबाट फुलकुमार लालवानी, एमालेबाट मनोज अग्रवाल, नेपाली कम्युनिस्ट पार्टीबाट शिवकुमार मण्डल, राष्ट्रिय ऊर्जाशील पार्टीबाट योगेन्द्र मण्डल र रास्वपाबाट आशा झाले उम्मेदवारी दर्ता गराएका छन्। यस क्षेत्रमा १ लाख १० हजार १७७ मतदाता छन्।
मोरङ क्षेत्र नम्बर ६
कुल २० जनाले उम्मेदवारी दर्ता गराएका यस क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला प्रमुख उम्मेदवारका रूपमा छन्। उनी २०७९ को निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएका थिए।
यसपटक उनलाई एमालेका विनोद ढकाल, नेपाली कम्युनिस्ट पार्टीका ओपेन्द्र राय र रास्वपाकी रुविना आचार्यले चुनौती दिएका छन्।
मंगलबार मनोनयन दर्ता सम्पन्न भएसँगै मोरङमा चुनावी माहोल तातेको छ। निर्वाचन आयोगले अब उम्मेदवारको दाबी–विरोध र छानबिन प्रक्रिया अघि बढाउने जनाएको छ।
