फायल फोटो
काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसले पार्टीका निर्णय र विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा जानकारी गराउन पुगेको छ ।
सहमहामन्त्री डिला संग्रौलाका अनुसार आज बसेको केन्द्रीय समिति बैठकले गरेका निर्णय तथा पार्टी विवरण अद्यावधिक गर्ने निर्णयअनुसार आफू आयोगमा उपस्थित भइसकेको र सभापतिसहित अन्य पदाधिकारीहरू पनि आउने क्रममा छन् ।
‘केन्द्रीय समिति बैठकले पार्टीका सबै विवरण अध्यावधिक गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज निर्वाचन आयोगमा विवरण बुझाउन लागिएको हो,’ उनले भनिन्, ‘म आइसकेकी छु, सभापति र पदाधिकारीहरू आउँदै हुनुहुन्छ ।’
बुधबार सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो ।
यसैबीच, शेरबहादुर देउवा नेतृत्वको कांग्रेस पक्षले भने पार्टीमा कुनै विशेष महाधिवेशन नभएको दाबी गर्दै निर्वाचन आयोगलाई पत्र पठाइसकेको छ ।
देउवा पक्षले पत्र पठाउनुअघि नै विशेष महाधिवेशन पक्षधरले आयोगमा विशेष महाधिवेशन भइरहेको जानकारी गराइसकेका थिए । यससँगै कांग्रेसभित्र आधिकारिकताको विवाद थप चर्किएको छ ।
