काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार महाधिवेशनको कार्यतालिका प्रस्तुत गरिसकेपछि महामन्त्री गगन थापाले आफ्नो अतिरिक्त प्रस्तावका विषयमा केन्द्रीय समितिमा विचार राख्न चाहेका थिए ।
कार्यबाहक सभापतिले महामन्त्री थापालाई धारणा राख्नुभन्दा लिखित प्रस्ताव दर्ता गर्न आग्रह गरे । महामन्त्रीनिकट केन्द्रीय सदस्यहरूका महाधिवेशनको तालिका र समय ग्यापबारे उनले आफ्नो धारणा राख्न चाहेका थिए ।
कार्यवाहक सभापतिले महामन्त्री थापा बोल्न सुरु गरेपछि बहस दोहोरिने भन्दै लिखित दर्ज गर्न आग्रह गरेका थिए । कार्यबाहक सभापतिको आग्रहपछि महामन्त्रीले अतिरिक्त प्रस्ताव लिखित रूपमै प्रस्तुत गरे । यसपछि थापाको अतिरिक्त प्रस्ताव के थियो भन्ने आमजिज्ञासा देखियो ।
एक केन्द्रीय सदस्यले भने, ‘नियमित महाधिवेशन जुनसुकै हालतमा हुनुपर्यो । कुनै कारणले नियमित महाधिवेशन नहुने भयो भने स्वत: विशेष महाधिवेशन हुनेछ’ भन्ने मुख्य विषयवस्तु नै अतिरिक्त प्रस्तावको सार हो ।’
कार्यतालिका बमोजिम १५ औं महाधिवेशन नगर्ने नियत देखिए विशेष महाधिवेशनको प्रक्रियामा जाने संस्थापनइतर पक्षले जनाइसकेको छ ।
सभापति शेरबहादुर देउवानिकट शीर्ष तहका नेताहरू विशेष महाधिवेशनको हस्ताक्षर फिर्ता गरेर मात्रै नियमित महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने पक्षमा थिए ।
सभापति देउवा निवासमा भएको शीर्ष नेताको बैठकमा दुई महामन्त्री थापा र शर्माले हस्ताक्षर फिर्ता लिने नसकिने अडान लिएपछि देउवाले यथास्थितिमै नियमित महाधिवेशनको कार्यतालिका ल्याउन निर्देशन दिए । ।
सभापति देउवा स्वयं कार्यतालिका ल्याउने पक्षमा देखिएपछि चुनावअघि महाधिवेशन गर्न हुँदैन भन्ने पूर्वपदाधिकारी विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला पनि पूर्वअडानबाट पछि हटेका थिए ।
सोही अनुसार पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने गरी सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा कार्यबाहक सभापति खड्काले कार्यतालिका पेश गरे । सो कार्यतालिका सर्वसम्मत पारित भइसकेको छ ।
