नोट: यो समाचार २ महिना अघिको हो
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न दिइएको थपिएको समय आज अन्त्य हुँदैछ।
निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार मंसिर १ देखि मंसिर १० गतेसम्म दल दर्ता गर्ने समय तोकिएको थियो। तर धेरै दलहरू दर्ता प्रक्रियामा रहेको र केहीले समय थप गर्न माग गरेपछि आयोगले चार दिन थप समय प्रदान गरेको थियो।
गत शुक्रबारसम्म १०८ राजनीतिक दल निर्वाचन प्रयोजनका लागि दर्ता भइसकेका छन्। आजसम्म दर्ता हुने दलहरूले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछन्।
२०७९ साल मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनको तुलनामा यसपटक चुनावमा सहभागी हुन दलहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ। त्यतिबेला ८४ दलले प्रतिस्पर्धा गरेका थिए भने अहिले दर्ता भइसकेका दलको संख्या १०८ पुगेको छ। आज अन्तिम दिन भएकाले यो संख्या अझै बढ्न सक्ने अनुमान छ।
जेनजी आन्दोलनपछि गठन भएका मात्रै २३ राजनीतिक दलले आयोगबाट आधिकारिकता पाइसकेका छन्। यसैबीच १६ दल अझै दर्ता प्रक्रियामा रहेका छन्।
आयोगका अनुसार पछिल्लो समय माधवप्रसाद खतिवडाको नागरिक बचाउ दल नेपाल र प्रकाश खड्काको नेपाल जनसेवा पार्टी दर्ता भएका छन्। सबिन सिग्देलको प्रगतिशील नागरिक पार्टी, दिपककुमार साहको सर्वोदयी पार्टी, र सर्वेन्द्र खनालको समुन्नत नेपाल पार्टी पनि दर्ता भएका छन्।
रमनकुमार श्रेष्ठको जनादेश पार्टी नेपाल, गणेशकुमार मण्डलको सार्वभौम नागरिक पार्टी, श्रृया केसीको नागरिक सेवा पार्टी, अनुपकुमार उपाध्यायको उज्यालो नेपाल पार्टी, योगेन्द्र मण्डलको राष्ट्रिय ऊर्जाशील पार्टी र प्रशान्त सिंहको पिपुल फर्स्ट पनि दर्ता भइसकेका छन्।
यसअघि हर्कराज राई (साम्पाङ) को श्रम संस्कृति पार्टी, नेपाल जनमुक्ति पार्टीबाट अलगिएको राष्ट्रिय जनमुक्ति पार्टी, दिनेशराज प्रसाईंको गतिशील लोकतान्त्रिक पार्टी, र कबिर सोपको नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ता भएका थिए।
त्यस्तै, प्रचण्ड र माधव नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी, राजेश प्रतेलको राष्ट्रिय परिवर्तन पार्टी, रियाज अहमद शेषको राष्ट्रिय जनमत पार्टी, तथा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल पनि दर्ता भइसकेका छन्।
अकबर खानको राष्ट्र निर्माण दल नेपाल, सत्यवान कुमार सिंहको स्वाभिमान पार्टी, खगेन्द्र सुनारको हाम्रो पार्टी नेपाल, र रत्नप्रसाद श्रेष्ठको नागरिक सर्वोच्चता पार्टी नेपाल पनि दर्ता भइसकेका दलमध्ये छन्।
दर्ता प्रक्रियामा रहेका अन्य दलहरूमा गोपीलाल न्यौपानेको नेपाल लिभरल पार्टी, हिमालयबहादुर चन्दको नेपाल राष्ट्रिय युवा पार्टी, चन्द्रप्रकाश सुवेदीको सुन्दर नेपाल निर्माण पार्टी, र राजकुमार कक्षपतिको नेकपा (वामपन्थी केन्द्र) छन्।
त्यस्तै, सुन्दरराम बोहराको आवाज पार्टी, प्रशान्त आचार्यको नेपाली प्रथम पार्टी, अशोककुमार यादवको जनता लोकतान्त्रिक पार्टी नेपाल, सन्दीप उप्रेतीको राष्ट्रिय स्वाभिमान पार्टी नेपाल पनि प्रक्रियामा रहेका छन्।
नुमा लिम्बूको समावेशी समाजवादी पार्टी, टीकाराम पुरीको राष्ट्रिय गौरव पार्टी, जीवन लिम्बूको एकता नेपाल, किशोरी कार्कीको नवनिर्माण, लक्ष्मीप्रसाद खतिवडाको राष्ट्रिय सनातन पार्टी नेपाल, शरदसिंह यादवको जनअधिकार पार्टी, काजल अधिकारीको न्यू न्यास्नलिस्ट पार्टी र शम्भु पोखरेलको उदार लोकतान्त्रिक पार्टी पनि दर्ता प्रक्रियामा रहेका दलहरू हुन्।
