काठमाण्डौ । साताको पहिलाृ कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। आज नेप्से परिसूचक ०.२० प्रतिशत अर्थात ५.१५ अंकले घटेर २ हजार ५४०.५७ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.३२ प्रतिशतले घटेर ४३९.४४ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३७ वटा स्क्रिप्टको ७९ लाख ५७ हजार ५६ कित्ता सेयर ३ अर्ब ८९ करोड ३९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे भन्छन, ‘अहिलेको बजार एक्युमुलेसन फेजमा छ, लगानीकर्ताहरुमा कन्फिडेन्ट बढ्न सकिरहेको छैन । सबै कुरा सकारात्मक हुँदाका वाबजुत पनि बजार बढ्न नसक्नुको मुख्य कारण भनेको चुनावको अन्यौलता हो । बजार बढ्नुपर्ने थुप्रै आधारहरु रहेपनि लगानीकर्ताहरुले ढुक्कसँग लगानी गर्नसक्ने वातावरण बनेको छैन ।
अहिले सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरेका छन् । बैंकहरुले मंसिर महिनाका लागि पनि ब्याजदर घटाएका छन् तर लगानीकर्ताको मनोबल बढ्न सकिरहेको छैन । यदि चुनावको टुंगो लाग्ने हो भने लगानीकर्तामा कन्फिडेन्ट बढेर मंसिरमा बजार बढ्न सक्ने देखिन्छ ।’
अर्का बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘आजको बजार घट्नुपर्नेमा त्यस्तो कुनै ठोस कारण छैन । नेपाल बैंकले आज सार्वजनिक गरेको रिर्पोटमा नेपालको आर्थिक अवस्था तथा सूचकहरु राम्रै देखिएको छ । मुख्यगरी अहिले लगानीकर्तामा कन्फिडेन्ट आउन नसक्नुको मुख्य कारण भनेको चुनाव र आन्दोलनको अन्योलता हो ।
साथै जेनजी आन्दोलनका कारण सूचीकृत बैंक वित्तीय संस्था र बीमा कम्पनीहरुको रिपोर्ट पनि राम्रो आएन यसले बजार बढ्न नदिन मलम लगाउने काम गर्यो । यदि मंसिरमा केही समूहको आन्दोलन हुने हो भने निजी क्षेत्रलाई नै थप क्षति पुर्याउने देखिन्छ र बजार झन घट्न सक्ने देखिन्छ ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबै समूहमा रातो पोतियो । आज होटल, उत्पादन तथा प्रशोधन र अन्य समूह मात्रै बढे। यी समूहहरु आज क्रमशः ०.१८, ०.०२ र ०.७२ प्रतिशतले बढे ।
फाइनान्स समूह आज सर्वाधिक अर्थात ०.८७ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.३० प्रतिशत, विकास बैंक ०.५२, हाईड्रो ०.४९, लगानी ०.३४, जीवन बीमा ०.१२, लघुवित्त ०.३८ ,म्युचुअल फण्ड ०.१४, निर्जीवन ०.४९ र व्यापार समूह ०.१० प्रतिशतले घट्यो ।

