पटना । बिहार राज्यको विधानसभा निर्वाचनको मतगणना अहिले जारी छ। प्रारम्भिक मत परिणामका अनुसार, भारतीय जनता पार्टी र जनता दल युनाइटेड (जेडीयू) को ‘एनडीए’ गठबन्धनले बहुमत प्राप्त गर्ने संकेत दिएको छ।
प्रारम्भिक परिणामले एनडीए गठबन्धनलाई १८० सिटभन्दा बढीमा अग्रता दिलाएको देखाउँछ, जबकि बहुमतका लागि १२२ सिट आवश्यक छन्।
अर्कोतिर, आरजेडी, कांग्रेस र वामपन्थी दलको गठबन्धनले लगभग ५५ सिटमा अग्रता बनाएको छ।
एनडीए गठबन्धनले वर्तमान मुख्यमन्त्री नीतीश कुमार यादवलाई नै भावी मुख्यमन्त्रीको रूपमा अघि सारेको छ, जबकि आरजेडी–कांग्रेस गठबन्धनले आरजेडी नेता तेजस्वी यादवलाई मुख्यमन्त्रीका रूपमा प्रस्तुत गरेको थियो। तेजस्वी यादव बिहारका पूर्वमुख्यमन्त्री लालु प्रसाद यादवका छोरा हुन्।
तेजस्वी यादवको युवा नेतृत्वलाई बिहारमा राम्रो प्रतिक्रिया किन प्राप्त भएन भन्ने विषयमा अहिले छलफल भइरहेको छ। आरजेडीले १४४ सिटमा उम्मेदवारी दिएका थिए, जसमा ३६ प्रतिशत उम्मेदवार यादव समुदायका थिए। यादव समुदाय बिहारमा १४ प्रतिशत मात्र रहेको बताइन्छ, र आरजेडीले यस समुदायलाई प्राथमिकता दिँदा अन्य समुदायका मतदातालाई आकर्षित गर्न सकिनसकेको विश्लेषकहरूको भनाइ छ।
अर्कोतिर, तेजस्वी यादवले आफ्नो सहयोगी दल कांग्रेस, वामपन्थी दल र अन्य साना दललाई पर्याप्त साथ नदिएका कारण पनि पराजयको एक कारण भएको विश्लेषण गरिएको छ।
कांग्रेसका नेता दिग्विजय सिंहले प्रारम्भिक परिणामहरूमा आफूले जुन शंका व्यक्त गरेका थिए, त्यही पुष्टि भएको बताए। उनले चुनावी परिणाममा ६२ लाख नाम कटौती र २० लाख नयाँ नाम थपिएको तथ्यलाई जोड दिँदै यसबाट नतिजामा फरक परेको उल्लेख गरे। उनले अब कांग्रेसलाई आफ्नो संगठनमा ध्यान दिनुपर्ने कुरामा जोड दिए।
नीतीश कुमारले कसरी बाजी मारे?
मुख्यमन्त्री नीतीश कुमारले निर्वाचन मिति घोषणा हुनु भन्दा अघि ७५ हजार महिलाका बैंक खातामा १०–१० हजार रुपैयाँ पठाएका थिए। यो योजना महिला केन्द्रित सामाजिक सुरक्षा योजना थियो, जसको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट गरेका थिए। यस योजनाले एक करोड भन्दा बढी महिलालाई लाभ दिएको भनिएको छ। यो योजना धेरै महिलाहरूको मत एनडीए गठबन्धनको पक्षमा जानमा सफल भएको छ।
तेजस्वी यादवले यस योजना को काउन्टर गर्दै महिलाहरूको खातामा ३०-३० हजार पठाउने घोषणा गरे, तर जसले पहिले नै नगद प्राप्त गरेका थिए, उनीहरूलाई थप रकमको प्रतिबद्धताले लोभ्याउन सकेन।
मदिरा प्रतिबन्धको मुद्दा पनि बिहारमा महत्वपूर्ण बन्यो। गरीब र विपन्न वर्गका, विशेष गरी महिला र युवा मतदाताहरूले नीतीश कुमारको मदिरा प्रतिबन्धको निर्णयलाई समर्थन गरे। विपक्षी नेता प्रशान्त किशोरले आफ्नो सरकार बनेमा मदिरा प्रतिबन्ध हटाउने घोषणा गरे भने, तेजस्वी यादव यसबारे कुनै स्पष्ट प्रतिक्रिया दिन सकेनन्। तर नीतीश कुमार भने मदिरा प्रतिबन्ध कुनै हालतमा हटाउने पक्षमा अडिग देखिए। बिहारका मतदाताले पनि नीतीश कुमारको यो अडानलाई समर्थन गरे।
