Premier Cables
Premier Steel

राष्ट्रिय

बालेन नयाँ पार्टी गठनमा जुटे, कहिले हुन्छ दर्ता ?

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक २५, २०८२  | साँझ ४:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आफ्नै सचिवालय सदस्यहरूमार्फत नयाँ राजनीतिक दल गठनको तयारीमा जुटेका छन्।

‘उज्यालो नेपाल’ नामक पार्टी खोल्ने प्रारम्भिक तयारी भइरहेका बेला ऊर्जामन्त्री कुलमान घिसिङसँग सहमति नजुटेपछि, मेयर बालेनको सचिवालयकै एक सदस्यको संयोजकत्वमा नयाँ दल दर्ता प्रक्रिया अघि बढाइएको बुझिएको छ।

बिज्ञापन

मेयर बालेनसँग निकट एक सदस्यका अनुसार, “कुलमान घिसिङतर्फबाट हाम्रा साथीहरूलाई पार्टीमा आवद्ध हुन नागरिकता लगायतका कागजात माग गरिएको थियो, तर कसैले पनि सहभागिता जनाएनन्।” उनका भनाइमा, मेयर बालेन आफैं पनि सुरुवातमा केही सदस्यलाई कुलमानको टिममा पठाउने पक्षमा थिए, तर पार्टी गठनसम्बन्धी समझदारीमा विवाद उत्पन्न भएपछि टोली फिर्ता आएको हो।

स्रोतका अनुसार, अब बालेनको नेतृत्वमा ‘देश विकास पार्टी’ नामक नयाँ राजनीतिक दल दर्ता गर्ने तयारी भइरहेको छ। उक्त दल सुदीप ढकालको संयोजकत्वमा दर्ता हुने र ‘लौरो’ चिन्ह प्रस्ताव गरिएको बताइएको छ। तर, हाल उक्त चुनाव चिन्ह ‘हामी नेपाली पार्टी’सँग दर्ता छ।

“परिस्थिति हरेक घण्टामा बदलिँदै छ, साँझसम्म केही ठोस निर्णय आउन सक्छ,” बालेन सचिवालयकै अर्को सदस्यले बताए। संयोजकका रूपमा प्रस्तावित ढकालले भने अहिलेसम्म औपचारिक निर्णय नभएको स्पष्ट पारे। उनका अनुसार, “राजनीतिक गतिविधिमा संलग्न हुने सम्भावना खुला छ, तर आधिकारिक निर्णय भएको छैन।”

ढकालले रातोपाटीसँग भने, “हामी कुलमानजीसँग सहकार्य गर्ने सोचमा थियौं, तर सहमति कार्यान्वयन नभएकाले कुरा रोकिएको हो।” उनले थपे, “हामीले चाहेको पारदर्शिता र जवाफदेहिता कुलमानको टोलीमा देखिएन, धेरै कुरा अस्पष्ट र लुकाइएका थिए।”


जेनजी केन्द्रित रणनीति

ढकालका अनुसार, यदि कुनै वैकल्पिक राजनीतिक शक्ति उदाएन र जेनजी पुस्ताका माग सम्बोधन भएनन् भने नयाँ दल गठन अनिवार्य बन्न सक्छ। “कसैले वैकल्पिक नेतृत्व लिएन भने कोही न कोही अगाडि आउनैपर्छ। अहिले छलफल भइरहे पनि औपचारिक निर्णय भएको छैन,” उनले स्पष्ट पारे।

उनले थपे, “जेनजी पुस्ता जहाँ छन्, हामीले त्यहीँबाट समर्थन गर्नुपर्छ भन्ने हाम्रो बुझाइ हो। यदि कुलमान घिसिङसँग सहमति भयो र जेनजीले पनि साथ दिए भने हाम्रो टोलीले पनि समर्थन गर्नेछ।”

स्रोतका अनुसार, बालेनले नियुक्त गरेका काठमाडौँ महानगरका सहरी योजना आयोगका सहायक विज्ञ सन्तोष गिरीलाई प्रारम्भिक रूपमा घिसिङको पार्टीमा पठाइएको थियो। वैकल्पिक राजनीतिक क्षेत्रमा सक्रिय गिरीले हालै ललितपुरमा ‘राष्ट्रहित सर्वोपरि’ नामक कार्यक्रम संयोजन गरेका थिए, जसमा पूर्वप्रधानन्यायाधीश, पूर्वसचिव र विभिन्न युवा नेताहरूको सहभागिता थियो। तर पार्टीको नाम र नेतृत्वबारे सहमति नजुटेपछि उनी पनि फिर्ता भएका थिए।

यस विषयमा बालेन सचिवालयका १० भन्दा बढी सदस्यसँग सम्पर्क गर्दा, सात जनाले नयाँ पार्टीको तयारी भइरहेकाे पुष्टि गरेका छन्।

बालेनको भूमिका

स्रोतका अनुसार, बालेन स्वयंले प्रत्यक्ष रूपमा संसदीय चुनावमा सहभागी नहुने भए पनि, जेनजी आन्दोलनको भावना र वैकल्पिक राजनीतिक सोच बोकेको पार्टीलाई खुला समर्थन गर्ने तयारीमा छन्।

“उहाँ (बालेन) मेयरको पाँच वर्षे कार्यकाल पूरा गर्नेमा अडिग हुनुहुन्छ, तर जेनजी आन्दोलनको मर्मलाई अघि बढाउने कुनै प्लेटफर्म चाहिएको हो,” दल निर्माणमा संलग्न एक सदस्यले भने, “त्यही कारण सचिवालयका सदस्यहरूको पहलमा यो नयाँ दल गठनको प्रक्रिया अघि बढाइएको हो।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka