काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित लाल किल्ला नजिक सोमबार साँझ करिब ७ बजे भएको कार विस्फोटमा ११ जनाको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार विस्फोटमा परी २० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
घटनापछि दिल्ली–एनसीआर क्षेत्रमा उच्च सतर्कता घोषणा गरिएको छ । विस्फोटमा प्रयोग गरिएको आई–२० मोडेलको कारको मालिकको पहिचान भारतीय प्रहरीले गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार उक्त कार पटक–पटक बेचिएको पाइएको छ ।
विस्फोट भएको एचआर–२६–सीई–७६७४ नम्बरको कार गुरुग्राम, हरियाणाका सलमान नामका व्यक्तिको नाममा दर्ता रहेको बताइएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।
सलमानले सो कार दिल्लीको ओखलाका देवेन्द्रलाई बेचेको बताएका छन् । देवेन्द्रले पछि सो कार अम्बालामा तेस्रो व्यक्तिलाई बिक्री गरेका थिए, र अन्ततः त्यो कार पुलवामा (कश्मीर) का तारिक नामक व्यक्तिसम्म पुगेको बताइन्छ ।
यस घटनापछि सन् २०१९ मा पुलवामामा भएको आतंकवादी कार बम विस्फोटको सम्झना ताजा भएको छ, जसमा ४० जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको थियो ।
गुरुग्राम प्रहरीका अनुसार घटनाको अनुसन्धान तीव्र रूपमा अगाडि बढाइएको छ । सीआईए मानेसर प्रमुख ललितको नेतृत्वमा अनुसन्धान भइरहेको छ भने दिल्ली प्रहरीले पनि विशेष टोली घटनास्थलमा खटाएको बताइएको छ ।
