Premier Cables
Premier Steel

राजनीति

तीन चिरा भयो एकीकृत समाजवादी, को नेता कता लागे?

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar बिहिबार, कार्तिक २०, २०८२  | बिहान ८:१७ बजे

काठमाडौं । नेकपा एमालेप्रति असन्तुष्टि जनाउँदै चार वर्षअघि गठन गरिएको नेकपा (एकीकृत समाजवादी) अहिले आन्तरिक विवादका कारण तीन टुक्रामा विभाजित भएको छ।

एमालेको नीति र नेतृत्वको तीव्र आलोचना गर्दै आफूहरू नै कम्युनिस्ट आन्दोलनको “मूलधार” भएको दाबी गर्ने नेताहरू आज फेरि त्यही एमालेमा फर्किने तयारीमा देखिएका छन्।

२०७८ साल भदौ २ गते एमाले फुटाएर एकीकृत समाजवादी गठन गर्ने नेतृत्वमा रहेकी रामकुमारी झाँक्री अहिले पुनः एमालेमा फर्कने तयारीमा छन्। पार्टी विभाजनको समयमा उनले माधवकुमार नेपालको साथमा निर्वाचन आयोग पुगेकी थिइन्। तर अहिले अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई माओवादी केन्द्रसँग एकता गराएपछि झाँक्री आत्ममूल्यांकन गर्दै एमाले फर्किन मनस्थितिमा पुगेकी हुन्।

त्यस्तै, विभाजनको समयमा सक्रिय भूमिका खेलेका नेता कृष्णकुमार श्रेष्ठले त पहिले नै नि:सर्त एमालेमा फर्किने घोषणा गरिसकेका छन्। ओलीको कार्यशैलीप्रति असहमति जनाउँदै पार्टी फुटाएका श्रेष्ठ अहिले भने आफ्नो विद्रोहले सार्थकता नपाएको भन्दै “मूल घर फर्किन” तयारीमा छन्।

अध्यक्ष नेपालको माओवादी केन्द्रसँगको एकतापछि केवल झाँक्री र श्रेष्ठ मात्र होइन, पिताम्बर तिम्सिना, गम्भीरलाल श्रेष्ठलगायत धेरै केन्द्रीय सदस्यहरू पनि एमालेमा फर्किन इच्छुक देखिएका छन्। उनीहरू सबैले एमालेले आफूहरूलाई सम्मानजनक स्थान देओस् भन्ने अपेक्षा राखेका छन्।

एमाले महासचिव शंकर पोखरेलले भने विगतमा सँगै काम गरेका कार्यकर्ताहरू फर्किन चाहने भए कुनै विशेष सम्झौता आवश्यक नपर्ने बताएका छन्। तर उनले स्पष्ट पारेका छन्—एमालेमा फर्केपछि पार्टीको नीति र नेतृत्वप्रति आलोचना स्वीकार्य हुने छैन।

यसअघि नै मुकुन्द न्यौपाने, केदार न्यौपानेसहित ४० भन्दा बढी केन्द्रीय सदस्य र १५ जिल्ला अध्यक्ष एमालेमा पुनः प्रवेश गरिसकेका छन्। त्यहीबीच, घनश्याम भुसाललगायतका केही नेताहरू भने नयाँ दल गठनको गृहकार्यमा जुटिरहेका छन्।

कम्युनिस्ट राजनीतिमा विचारभिन्नताका कारण असहमति र विभाजन असामान्य होइन। तर हिजो नेतृत्वको आलोचना गर्दै पार्टी फुटाउने नेताहरू आज त्यही नेतृत्वको संरक्षणमा फर्कन खोज्नु विरोधाभासपूर्ण देखिन्छ। उनीहरूमा हिजो किन छुट्टिनुपर्‍यो र आज किन फर्कनुपर्‍यो भन्ने स्पष्ट जवाफ अझै छैन।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka