्बेलबारी । जेनजी आन्दोलनको तातो माहोल शान्त हुँदै जाँदा बेलबारी नगरपालिकाका राजीनामा दिएका जनप्रतिनिधिहरू फेरि जिम्मेवारीमा फर्किएका छन् ।
गत भदौ २३ र २४ गतेको आन्दोलनका समयमा नगरप्रमुख दिलप्रसाद राई, उपप्रमुख नितु थापा सहित अधिकांश वडाध्यक्षहरूले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका थिए । तर, ती राजीनामा स्वीकृत नभएपछि उनीहरू “जनताको दबाब र पार्टीको आग्रह” भन्दै पुनः कार्यालय फर्किएका हुन् ।
वडा नं ३ का अध्यक्ष योगेन्द्रप्रसाद सुवेदीले त कार्यपालिका बैठकमै औपचारिक राजीनामा दिएका थिए । तर पत्र स्वीकृत नहुँदै उनले पनि पुनः जिम्मेवारी सम्हालेका छन् । उनीहरूको साझा भनाइ छ — “मतदाताको अपेक्षा पूरा गर्न पुनः फर्किएका हौं ।”
तर, नगरबासीहरू यस कदमप्रति असन्तुष्ट छन् । उनीहरूका अनुसार, “राजीनामा र पुनःफिर्तीको नाटक गरेर जनताको ध्यान अन्यत्र मोड्ने प्रयास भएको” हो ।
निर्वाचनको चार वर्ष पुग्दासमेत बेलबारीका जनप्रतिनिधिहरूले ठूला उपलब्धि दिन नसकेको स्थानीयको आरोप छ । अघिल्लो कार्यकालमा सुरु गरिएका बेलबारी सपिङ कम्प्लेक्स, रमिते भ्यू टावर, र चिस्यान केन्द्र जस्ता परियोजनाहरू अझै अधुरै छन् ।
त्यसैगरी, करिब १ करोड ३२ लाख रुपैयाँ लागतमा खरिद गरिएका विद्युतिय नगरबसहरू ६ महिनादेखि पार्किङमै थन्किएका छन् । नगरबासीहरू भन्छन् — “कामभन्दा बढी रिबन काट्ने र फोटो खिचाउने जनप्रतिनिधिको चलन बढेको छ ।”
कोशी प्रदेश सरकारले बेलबारीमा स्थापना गर्न लागेको प्रदेश प्रहरी अस्पताल समेत व्यवस्थापन गर्न नसक्दा इनरुवा सारिनु नगरपालिकाको अर्को असफलता बनेको छ ।
नगरभित्र भ्रष्टाचार र मिलेमतोका आरोपहरू लगातार उठ्दै आएका छन् । उपप्रमुख नितु थापाले लेखा प्रमुख धनमाया राईमाथि “हिसाब हेर्न नदिएको” आरोप लगाएकी थिइन्, जसको निष्कर्ष अझै आएको छैन । यही विवादका कारण केही महिना अघि नगरप्रमुख र नगरबासीबीच तीव्र वादविवाद समेत भएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत बेलबारीका कर्मचारी र जनप्रतिनिधिहरूविरुद्ध भ्रष्टाचार मुद्धा विचाराधीन छन् ।
जेनजी आन्दोलनका क्रममा बेलबारी नगरपालिका र वडा नं २, ६, ९, र ११ का कार्यालयहरूमा आगजनी र तोडफोड हुँदा करिब अढाई करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ ।
उपप्रमुख नितु थापाका अनुसार, “क्षति भएका संरचनाहरू पुनर्निर्माणका लागि तयारी थालिएको” छ ।
