 
                     
	 
	 
	 
	 
	 
	 
					
					
					
             विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल विद्युत् प्राधिकरणद्वारा विद्युत् आपूर्ति बन्द गरिँदा प्रदेशका उद्योगहरू प्रभावित बनेको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन् ।
विद्युत् आपूर्ति अवरुद्ध हुँदा उद्योग बन्द भई उत्पादन र स्थानीय रोजगारीमा समेत असर परेको भन्दै उनले तत्काल समस्या समाधान गर्न आग्रह गरेका हुन् ।
मुख्यमन्त्री कार्कीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै विद्युत् आपूर्तिमा आएको अवरोधका कारण उद्योग तथा व्यवसाय ठप्प हुन पुगेको र यसले प्रदेशको आर्थिक गतिविधि नै प्रभावित बनाएको बताए । उनले नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीचको विवाद समाधानका लागि संवाद र सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
विज्ञप्तिमा भनिएको छ, “प्रदेशका उद्योगहरूमा विद्युत् आपूर्ति बन्द हुँदा उत्पादन ठप्प भएको छ, जसको असर रोजगार, निर्यात र लगानीमा परेको छ । यस्तो अवस्थामा सरकारले मध्यस्थता गरी समाधान खोज्नुपर्छ ।”
मुख्यमन्त्री कार्कीले मुलुकको आर्थिक स्थायित्वका लागि निजी क्षेत्रको विश्वास टुट्न नदिने गरी समस्या समाधान गर्न केन्द्र सरकारसँग आग्रह गरेका छन् । साथै, प्रदेश सरकारले पनि निजी क्षेत्र र नेपाल सरकारबीच संवाद र सहकार्यको वातावरण निर्माणका लागि तयार रहेको जनाएका छन् ।
प्रेस विज्ञप्तिमा थप उल्लेख छ, “राज्य र निजी क्षेत्रको आपसी विश्वासमा आघात पुग्ने काम रोक्नुपर्छ । यसका लागि प्रदेश सरकार आवश्यक पहल गर्न तयार छ ।”

 
                     
	 
	 
	 
	 
	 
	 
                   
                   
                   
                   
                  