विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले संविधानको रक्षा र संसद पुनःस्थापनाको मागसहित प्रदेशव्यापी आन्दोलन सुरु गरेको छ।
प्रेस चौतारी मोरङले विराटनगरमा आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले आन्दोलन शुरु भएको बताए ।
विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले जिल्लास्तरमा छलफल प्रारम्भ भइसकेको र पहिलो चरणमा सबालाख कार्यकर्ता परिचालन गरेर आन्दोलनलाई व्यापक बनाउने योजना रहेको बताए।
उनले भने, “पहिलो चरणमा सबै जिल्लामा छलफल गरी आन्दोलनको आँधीबेहरी ल्याउनेछौं। यसमा प्रदेशभरका सबालाख कार्यकर्ता उतार्ने तयारी छ।”
राईका अनुसार २५ गते हुने भेला सम्पन्न भएपछि जिल्ला सदरमुकाम र प्रदेश राजधानीमा प्रदर्शन गरिनेछ। उनले जेनजी आन्दोलनका क्रममा भएका आगजनी र तोडफोड घटनामा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी कारबाही गर्न सर्वस्वीकार्य आयोग गठन गर्नुपर्ने माग पनि राखे।
उनले पार्टीको केन्द्रीय निर्णयअनुसार आन्दोलनका कार्यक्रम प्रदेश र जिल्ला स्तरमा सञ्चालन हुने बताए। सन् २०४६ यताका नेताहरूको सम्पत्ति छानबिनका लागि एमाले तयार रहेको उल्लेख गर्दै उनले भने, “यस्तो छानबिन मबाटै होस्, उच्चस्तरीय आयोगले सबैको छानबिन गरोस्।”
राईले एमालेमा नयाँ नेतृत्व पार्टीको महाधिवेशनबाटै टुंगो लाग्ने स्पष्ट गर्दै थपे, “सडकबाट माग गरेर नेतृत्व परिवर्तन हुँदैन, यसको आफ्नै प्रक्रिया हुन्छ।”
उनका अनुसार असंवैधानिक सरकारले चुनाव गराउन नसक्ने भन्दै संसद् पुनःस्थापना गरी नयाँ सरकार गठन हुनुपर्ने पनि उनले जोड दिए।
राईले मोरङ, तेह्रथुम, सुनसरी, ओखलढुंगा लगायत जिल्लामा क्रमिक रूपमा बृहत भेला आयोजना गरिने जानकारी दिए।
