






काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से ७८.८३ अंकले घटेर २५०३ विन्दुमा झरेको छ ।
परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । गत बिहीबार ५ अर्ब २७ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो । आज जम्मा ९ कम्पनीको मूल्य बढ्दा २४२ को घटेको छ । सबै समूहका सूचकहरू राताम्य भएका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ४.८४ प्रतिशतले घट्यो भने अन्य समूहमा ४.७९ प्रतिशतको गिरावट आएको छ ।
आज बैंकिङ २.३०, विकास बैंक २.९३, फाइनान्स ३.६७, हाइड्रोपावर ३.७९, लगानी ३.१३, जीवन बीमा २.५५, उत्पादन तथा प्रशोधन १.९४, माइक्रोफाइनान्स २.८८, निर्जीवन बीमा २.३२ र व्यापार २.८५ प्रतिशतले घटेका छन् ।
आज मूल्य बढ्नेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । यो कम्पनीको सेयर मूल्य ६.०१ प्रतिशतले बढेको छ । त्यसैगरी, पन्चकन्या माइ हाइड्रोपावरको ४.९० प्रतिशत र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको १.८९ प्रतिशतले मूल्य बढेको छ ।
आज सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीहरूमा बुटवल पावर ९.२७ प्रतिशत, नेपाल पुनर्बीमा ९.१५ र राँधि जलविद्युत ८.५० प्रतिशत रहेका छन् । कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा, एनएलजी इन्स्योरेन्स, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स र सीईडीबी होल्डिङ्स अगाडि छन् ।