






काठमाडौं । युरोपका प्रमुख विमानस्थलहरुमा साइबर आक्रमण भएपछि उडान प्रभावित भएका छन् ।
बेलायतको हिथ्रो, बेल्जियमको ब्रसेल्स तथा जर्मनीको बर्लिनलगायतका विमानस्थलमा साइबर आक्रमण भएका हुन् । एयरलाइन्सहरुलाई सेवा दिँदै आएको कोलिन्स एयरोस्पेसको सफ्टवेयरमा समस्या देखिएको हो ।
साइबर आक्रमणका कारण चेक-इन र ब्यागेज ड्रप प्रणाली प्रभावित भएका हुन् । सोहीकारण यात्रुहरुलाई भौतिक रुपमै चेक इन र बोर्ड गराउनुपर्दा विमानस्थलमा लामो लाइन लागेको थियो ।
हिथ्रो विमानस्थलले लामो उडानका लागि तीन घण्टा अघि नै र आन्तरिक उडानका लागि दुई घण्टाअघि नै विमानस्थलमा पुग्न आग्रह गरेको छ । बर्लिन विमानस्थलको वेबसाइटमा अवरोधका कारण पनि चेक-इनमा यात्रुहरुलाई लामो समय प्रतीक्षा गर्नु परेको जनाइएको छ ।
विमान ट्र्याकिंग सेवा फ्लाइटअवेरुका अनुसार हिथ्रोमा १ सय ४०, ब्रसेल्समा १ सय र बर्लिनमा ६२ उडानमा ढिलाइ भएका छन् ।
यस्तै युरोपको संयुक्त विमान सुरक्षा निकाय युरो कन्ट्रोलले एयरलाइन्सहरूलाई शनिबार बिहान ४ वजेदेखि आइतबार २ बजेसम्मका आधा उडान रद्द गर्न भनेको छ ।