Premier Cables
Premier Steel

विराटनगर

खैनी विवादले विराटनगरको बाल सुधार गृहमा झडप !

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २९, २०८२  | बिहान १०:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। विराटनगर–३ स्थित बाल सुधार गृहमा बुधबार दिउँसो भएको झडपको मूल कारण सुर्ती (खैनी) भएको खुलेको छ। सुधार गृहमा सुर्तीको एक पोका कसरी भित्रियो भन्ने विषयमा गरिएको सोधपुछले तनावको अवस्था सिर्जना गरेको हो।

स्रोतका अनुसार केही दिनअघि सुधार गृहमा केही बालकले सुर्ती सेवन गरेको पाइएको थियो। सो घटनाबारे सोधपुछ गर्न सुधार गृह प्रमुख गायत्रीप्रसाद ढकालले सम्बन्धित बालकहरूलाई बोलाएका थिए। तर, सोधपुछकै क्रममा अन्य बाल बिज्याइँकर्ताहरू कार्यकक्षमा प्रवेश गर्दै होहल्ला र आक्रमण सुरु भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

बिज्ञापन

झडपका क्रममा बाल बिज्याइँकर्ताहरूले इँटा प्रहार गर्न थालेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो। उनीहरूको आक्रमणबाट नेपाल प्रहरीका सहायक निरीक्षक (असई) शम्भु चौधरी र वरिष्ठ हवल्दार हिरणकुमार मण्डल घाइते भएका छन्। टाउकोमा चोट लागेका मण्डलको कोशी अस्पतालमा उपचार भइरहेको छ भने चौधरीलाई सामान्य चोट लागेको मोरङ प्रहरीले जनाएको छ।

घटनापछि करिब ३० देखि ५० जना बाल बिज्याइँकर्ताहरूले सुधार गृहको मुख्य गेट तोडेर भाग्ने प्रयास गरेका थिए। तर, तत्कालै पुगेको प्रहरी टोलीले उनीहरूलाई घेरी पुनः नियन्त्रणमा लिएको थियो। मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले “समयमै सुरक्षा सतर्कता अपनाएकाले कोही पनि भाग्न सकेनन्” भन्दै अहिले अवस्था पूर्ण रूपमा नियन्त्रणमा रहेको जानकारी दिए।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट डीएसपी हस्तबहादुर सुनारको नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। झडपका क्रममा सुधार गृहको मेश भवन, सुरक्षा ब्यारेक, कार्यालय कोठाहरू, झ्यालका सिसा र कुर्सीहरू तोडफोड भएको प्रहरीले जनाएको छ। यद्यपि क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।

यो घटना सुधार गृहमा पहिलोपटक भएको होइन। यसअघि पनि ‘नाइके’ र ‘क्याप्टेन’ नामधारी बालकहरूले नयाँ आएका बालकहरूलाई यातना दिँदा झडप भएको थियो। त्यस घटनामा रड र दाउराको प्रयोग हुँदा सात जना घाइते भएका थिए।

सुधार गृहको भौतिक र व्यवस्थापन पक्ष अत्यन्त कमजोर रहेको यहाँ रहेका बालकहरूले बताएका छन्। ५० जनाको क्षमता रहेको सुधार गृहमा हाल २४९ जना बालबन्दीहरू राखिएका छन्, जसका कारण एउटै कोठामा २५ जनासम्म खाँदिएर सुत्नुपर्ने बाध्यता रहेको छ।

गैरसरकारी संस्था सिविन नेपाल द्वारा गरिएको पछिल्लो अध्ययन अनुसार देशभरका अधिकांश सुधार गृहहरूको अवस्था दयनीय छ। १८ वर्षमुनिका बालबालिकासँगै वयस्कहरूलाई पनि राखिएको प्रमुख समस्या हो। बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार १८ वर्ष पुगेकाहरूलाई अलग राख्नुपर्ने व्यवस्था भए पनि व्यवहारमा त्यो कार्यान्वयन हुन सकेको छैन।

विराटनगर सुधार गृहमा रहेका २४९ मध्ये अधिकांश १८ वर्षभन्दा माथिका छन्। वैकल्पिक व्यवस्था र अदालतको आदेशको अभावमा सुधार गृह प्रशासनले उनीहरूलाई त्यहीँ राख्नुपरेको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka