






काठमाडौं । आज देशभर मनसुन सक्रिय रहेकाले धेरै स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको र मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा उत्तरतर्फ, तराई क्षेत्रमा अवस्थित भएकाले वर्षाको सम्भावना बढेको विभागले जनाएको छ।
दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोसी प्रदेशसहितका पहाडी भूभागमा अधिकांश स्थानमा बादल लाग्नेछ भने अन्य भूभागमा सामान्य बदली रहनेछ।
लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोसी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानहरूमा तथा अन्य क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ।
त्यस्तै, कोसी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि विभागले जनाएको छ।
राति देशभर सामान्य बदली रहनेछ। कोसी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।
कोसी प्रदेशका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।