






काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (आइतबार) दिउँसो १ बजे संसद् भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ।
आजको बैठकमा संसद्का महासचिवले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९’ सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यक्रम रहेको छ।
उक्त विधेयक यसअघि संघीय संसद्का दुवै सदन—प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई सभामुख देवराज घिमिरेमार्फत असार ३१ गते प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाइएको थियो।
तर राष्ट्रपति पौडेलले उक्त विधेयक संविधानको मर्म, भावना र लोकतान्त्रिक मूल्य–मान्यतासँग असहमत भएको भन्दै संविधानको धारा ११३(३) अनुसार पुनर्विचारका लागि ८ दिनपछि प्रतिनिधिसभामा फिर्ता पठाएका थिए।
अब उक्त विधेयक पुनः प्रतिनिधिसभामा प्रस्तुत गरी निर्णय गरिनेछ। त्यसपछि राष्ट्रियसभामा पठाइनेछ।
राष्ट्रियसभाले पुनः पारित गरेपछि विधेयक प्रतिनिधिसभामा फर्किनेछ र अन्ततः सभामुखले प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पेश गर्ने कानुनी प्रक्रिया तय गरिएको छ।