Premier Cables
Premier Steel

विराटनगर

कटहरीको हुलाकी सडक ६ वर्षदेखि अलपत्र, ठेक्का रद्द गर्न दबाब

नोट: यो समाचार ६ महिना अघिको हो

Calendar बिहिबार, साउन १५, २०८२  | अपराह्न १२:५६ बजे

विराटनगर । पूर्व–पश्चिम हुलाकी राजमार्ग अन्तर्गत मोरङको कटहरी गाउँपालिकास्थित सिंघीया खोलादेखि नयाँबजारसम्मको करिब ६ किलोमिटर सडक निर्माणमा ६ वर्ष बित्दासमेत २७ प्रतिशत मात्र काम सम्पन्न भएको छ। निर्माणमा चरम ढिलासुस्ती देखिएको भन्दै ठेक्का रद्द गर्न दबाब चुलिएको छ।

२०७६ सालमा गजुरमुखी–श्रेष्ठ कन्स्ट्रक्सनले ३ अर्ब ६० करोडमा रतुवा खोलादेखि केशलिया खोलासम्मको ४४ किलोमिटर सडक चार लेनमा निर्माण गर्ने ठेक्का लिएका थिए। कटहरी खण्डको जिम्मा पाएको श्रेष्ठ कन्स्ट्रक्सनले काममा बेवास्ता गर्दा परियोजनाको गति प्रभावित भएको छ।

कटहरी खण्डको सम्झौता २०७६ कार्तिक २४ मा भएको थियो र २०७९ कार्तिक २३ मा सकिने तय थियो। तर समयमै काम सुरु नहुँदा दुईपटक म्याद थपियो। दोस्रो म्याद पनि २०८२ जेठ मसान्तमा सकिए पनि काममा प्रगति देखिएको छैन। हुलाकी सडक आयोजना प्रमुख युवराज पोखरेलका अनुसार ठेकेदार सम्पर्कविहीन छन्, र वैकल्पिक प्रक्रिया सुरु गर्न बाध्य हुने अवस्था आएको छ।

स्थानीय बासिन्दा गोकुल भट्टराई भन्छन्, “धुलो र हिलोको कारण घरभित्र बस्नै सकिँदैन, वर्षौंदेखि पीडा सहनुपरेको छ।” कटहरी–२ का पूर्व वडाअध्यक्ष किशोर पाण्डेले खाल्डाखुल्डीका कारण साइकलयात्री घाइते हुने घटना बढेको बताए।

मुख्य ठेकेदारको गैरजिम्मेवारी देखेपछि आयोजना कार्यालयले कांग्रेसका नेता अभिषेक गिरीमार्फत पेटी ठेक्का दिएको थियो। तर उनले पनि काम अघि बढाउन सकेका छैनन्। पेटी ठेकेदारका प्रतिनिधिले बिजुलीका पोल हटाउन समस्या भएको बताएका छन्।

सर्वदलीय बैठकमा जनप्रतिनिधिहरूले ठेक्का खारेज गरी नयाँ प्रक्रिया थाल्न माग गरेका छन्। सांसद अमनलाल मोदीले संसदमा पटक–पटक आवाज उठाउँदा पनि सुनुवाइ नभएको भन्दै ठेकेदारलाई कालोसूचीमा राख्न माग गरे। कांग्रेस सांसद डिकबहादुर लिम्बू र एमाले नेता सागर थापाले पनि ठेकेदारलाई अन्तिम चेतावनी दिएर ठेक्का खारेज गर्नुपर्नेमा जोड दिएका छन्।

पटक–पटकको आन्दोलन, छलफल र दबाबपछि अब यो सडक खण्डको भविष्य सरकारको निर्णयमा निर्भर छ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka