हुलाकी राजमार्ग निर्माण ढिलाइ भएपछि स्थानीयको सडकमा धर्ना
नोट: यो समाचार ३ महिना अघिको हो
बिहिबार, कार्तिक २०, २०८२ |
अपराह्न १२:१३ बजे
विराटनगर । लामो समयदेखि हुलाकी राजमार्गको कटहरी खण्ड निर्माण कार्य रोकिएपछि स्थानीय बासिन्दाले बिहीबार सडकमै धर्ना दिएका छन्।
झन्डै पाँच किलोमिटर लामो सो खण्डको काम ठेकेदारले अघि नबढाएको र सडकमा धुलो–हिलोको समस्या बढेको भन्दै स्थानीय आक्रोशित बनेका हुन्। ठेकेदारले सडकमा पानीसमेत नछर्किएकाले हिँडडुल गर्न, सवारीसाधन चलाउन र यात्रुहरूलाई समेत ठूलो समस्या परेको स्थानीयहरूले बताएका छन्।
कटहरीका स्थानीयले काम तत्काल सुरु गर्न माग गर्दै सडकमा धर्ना सुरू गरेका हुन्।
यसअघि, सडक निर्माणमा ढिलाइ भएपछि कोसी प्रदेश सभा सदस्य भीम पराजुलीले समेत प्रदेश सभामा बोल्दै अनशन बस्ने चेतावनी दिएका थिए। त्यसपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा काम अघि बढाउने पहल भए पनि अझै निर्माण कार्य सुरु हुन नसकेको पराजुलीले बताएका छन्।