






काठमाडौं । प्रतिनिधिसभा बैठक आज दिउँसो ३ बजे बस्ने कार्यसूची छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र मानव तस्करी रोक्नुपर्ने माग गर्दै हिजो विपक्षी दलका सांसदले सदन अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले बैठक आज दिउँसो ३ बजे बस्ने गरी स्थगित गरेका थिए
आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र उक्त प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८२ पेश गर्ने कार्यसूची छ । तर, प्रतिनिधिसभा बैठक जेठ १३ देखि नियमित कार्यसूचीमै प्रवेश नगरी लगातार स्थगित हुँदै आएको छ ।
सभामुख देवराज घिमिरेसहित दलहरुले निरन्तर पहल परे पनि सत्ता पक्ष तथा विपक्षको आ-आफ्नै अडानका कारण अवरोध खुल्न सकेको छैन ।
प्रतिनिधि सभाको अवरोध खुलाउने बारेमा सभामुख, कानुनमन्त्री र राजनीतिक दलका प्रमुख सचेतकहरुको हिजोको बैठक पनि निष्कर्षविहीन भएको थियो ।