Premier Cables
Premier Steel

राष्ट्रिय

मधेश प्रदेशमा प्रहरी सेवाबाट जागिर छाड्नेको लर्को !

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar आइतबार, जेठ २५, २०८२  | बिहान ८:०५ बजे

जनकमपुर । मधेश प्रदेशका युवाहरूका लागि एक समय अत्यन्तै आकर्षणको विषय रहेको नेपाल प्रहरीको जागिर अहिले भने आकर्षण गुमाउँदै गएको छ।

विगतमा लाखौं रुपैयाँ खर्चेर पनि प्रहरी बन्ने होडमा लागेका युवाहरू अहिले भने प्रहरी सेवाबाट निराश हुँदै राजीनामा दिने क्रम बढाएका छन्। विशेषगरी तल्लो दर्जाका प्रहरी कर्मचारीहरू बीच राजीनामा दिने प्रवृत्ति तीव्र भएको छ।

बिज्ञापन

प्रहरी कर्मचारीहरूले न्यून तलब, लामो कार्यसमय, राजनीतिक हस्तक्षेप, सरुवा र बढुवामा पहुँच र सिफारिसको प्रभाव, मानसिक र शारीरिक थकान, र पारिवारिक जीवनमा सन्तुलनको अभाव जस्ता समस्याहरूलाई जागिर छोड्नुका कारणका रूपमा औंल्याएका छन्। हाल तल्लो तहका प्रहरीहरूको मासिक तलब करिब २६ हजार रुपैयाँ छ, जसमा खाद्यान्न भत्ता पनि समावेश हुन्छ। तर यो रकम दैनिक खर्च, परिवार पाल्न र भविष्य सुरक्षित गर्न प्रयाप्त नपुगेको गुनासो उनीहरूको छ।

नेपाल सरकारका अन्य कर्मचारीहरू ८ घण्टा ड्युटी सकेपछि घर फर्कन्छन् भने प्रहरी कर्मचारीहरूलाई भने कहिले काहीँ १८ घण्टासम्म पनि काम गर्नुपर्ने बाध्यता हुन्छ। यस्तो लामो कार्यसमयले उनीहरूमा थकान र असन्तुष्टि बढाउने गरेको छ। साथै, कामको मूल्याङ्कन योग्यताको आधारमा नभएर पहुँच र सिफारिसमा आधारित हुँदा तल्लो तहका कर्मचारीहरू निराश बनेका छन्।

पछिल्लो समय वैदेशिक रोजगारीतर्फ विशेष आकर्षण देखिएको छ। विशेषगरी खाडी मुलुक र द्वन्द्वग्रस्त देशहरूमा सुरक्षा सेवासम्बन्धी कामका लागि प्रहरी सेवाबाट राजीनामा दिएर जानेको संख्या बढेको छ। ड्युटीका लागि आवश्यक पोसाक र जुत्ता पनि समयमा नपाउने, फाटेका कपडासहित काममा खटिनुपर्ने अवस्थाले पनि उनीहरूमा असन्तोष थपेको छ। केही घटनामा ड्युटीको क्रममा गम्भीर घाइते भएका प्रहरीलाई राज्यले उपचार खर्च नदिएको आरोप पनि छ, जसका कारण उनीहरूले खेत बेचेर वा ऋण लिएर उपचार गराउनुपरेका उदाहरणहरू छन्।

प्रहरी जीवनले पारिवारिक सम्बन्धमा पनि असर पारिरहेको छ। घर पहाडमा भएर सरुवा मधेशमा हुने प्रहरीहरू लामो समयसम्म परिवारसँग टाढा बस्न बाध्य छन्। यस्तो अवस्थाले पारिवारिक जीवनमा असन्तुलन ल्याएको छ। केहीले पेन्सन पाउने न्यूनतम १६ वर्षको सेवा अवधि पुगेपछि जागिरबाट राजीनामा दिने गरेको पाइन्छ। १६ वर्ष र ३० वर्ष सेवा गरेपछिका सुविधामा खासै अन्तर नभएको बुझिएको छ।

अहिले एक जना प्रहरी कर्मचारीले तीन वर्षमा एक जोर जुत्ता र एक वर्षमा दुई सेट पोसाक मात्र पाउँछन्। १८ घण्टासम्मको ड्युटीमा यी सामग्रीले कति धान्न सक्छ भन्ने सहजै अनुमान गर्न सकिन्छ।

यस आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म मात्र मधेश प्रदेशमा ८३ जना प्रहरीले राजीनामा दिएका छन्। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार राजीनामा दिनेहरूमा वरिष्ठ सई १, असई १४, वरिष्ठ हवलदार २१, हवलदार ३१, सहायक हवलदार ४, जवान ९ र कार्यालय सहयोगी ३ जना छन्।

मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी उमा प्रसाद चतुर्वेदीले प्रहरी सेवाबाट राजीनामा दिने क्रम देशैभर बढिरहेको स्वीकार गरेका छन्। लामो कार्यसमय, पुराना सुविधा, बढ्दो महँगीसँग मेल नखाने तलब तथा भत्ताहरूका कारण जागिरप्रति आकर्षण घटेको बताउँदै उनले प्रहरीका सन्तानको शिक्षा, परिवारसहितको स्वास्थ्य उपचार, राशन वृद्धि र ड्युटी अनुसार छुट्टै भत्ता व्यवस्था गरेमा प्रहरी सेवाप्रति आकर्षण फिर्ता हुने विश्वास व्यक्त गरेका छन्।

एक जना अवकाश प्राप्त प्रहरी अधिकृतले यो समस्याको दीर्घकालीन समाधानका लागि तलब र सेवा सुविधामा सुधार, पारदर्शी सरुवा र बढुवा प्रक्रिया, पारिवारिक जीवनसँग सन्तुलन कायम गर्ने नीति, र समयमै आवश्यक पोसाक तथा उपकरणको उपलब्धता सुनिश्चित गर्नुपर्ने सुझाव दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka