






पाँचथर । निरीक्षण भ्रमणका क्रममा जिल्ला प्रहरी कार्यालय पाँचथर पुगेका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले मंगलबार पाँचथरका स्थानीय सरोकारवालाहरूसँग परिचय तथा अन्तरक्रिया गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरको सभाहलमा आयोजित कार्यक्रममा मेयर मित्र प्रसाद काफ्ले, जिल्ला समन्वय समिति प्रमुख राम राज आङदम्बे, स्थानीयबासी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू, विभिन्न संघसंस्थाका पदाधिकारीहरू, व्यापार संघ, नागरिक समाज र सञ्चारकर्मी लगायत उपस्थित थिए ।
अन्तरक्रियाका क्रममा प्रदेश प्रहरी प्रमुख कार्कीले स्थानीय स्तरमा रहेका समस्या र गुनासोहरूका बारेमा जानकारी लिनुभयो। उहाँले जिल्लाको शान्ति सुरक्षा, स्थानीय नागरिक र प्रहरीबीचको सहकार्य, लागूऔषधको ओसारपसार नियन्त्रण, र अपराधका घटना न्यूनीकरणमा स्थानीयबासीको भूमिका लगायतका विषयमा गहन छलफल गरे ।
कार्कीले दैवी प्रकोपको समयमा जनधनको उद्धारका लागि स्थानीय स्तरबाट प्रहरीलाई साथ र सहयोगको अपेक्षा गरे । साथै, ट्राफिक व्यवस्थापनका विषयमा नागरिकहरू सचेत भएमा सवारी दुर्घटनाका घटनामा कमी आउने विश्वास पनि व्यक्त गरे ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकी, प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षक रुकेश तण्डुकार लगायतका प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।